काठमाडौँ– पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ ।
उनको काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए ।
उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । ढुंगानाको अन्त्येष्टि उनका कान्छो छोरा निमेष लण्डनबाट आएपछि सोमबार गरिने नेपाली कांग्रेसका एक नेताले जानकारी दिए । उनको शवलाई सोमबारसम्म महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिने बताइएको छ ।
ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् । तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका उनी ०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव समेत बनेका थिए ।



























































