काठमाडौँ– लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण रिसोर्टमा शनिबार सम्पन्न गरेको छ। ‘स्विङ फर सस्टेनेबिलिटी’ विषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरूप्रतिको प्रतिबद्वतालाई जोड दिएको बैंकले जनाएको छ।
प्रतियोगिता पहिले यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा एक टन कार्बन उत्सर्जन हुने र त्यसलाई परिपूर्ति गर्न ४५ वटा रुख रोप्नुपर्ने आकलन गरिएको थियो। यद्यपि, बैंकले एक हजारवटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ।
साथै हरेक सहभागीहरूलाई हरित तथा दिगो भविष्यका लागि आफ्नो व्यक्तिगत योगदानस्वरूप एक–एक बिरुवा पनि प्रदान गरिएको बैंकले जनाएको छ।
एकदिने सो कार्यक्रममा १०७ गोल्फरहरूको सहभागिता रहेको थियो, जसमा आठ महिला प्रतियोगी थिए। सहभागीहरूले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा ४३ अंकसहित आत्माराम सिम्खडा विजयी हुँदा उपविजेता आशिषलाल श्रेष्ठले ४२ अंक ल्याए। यसैगरी, उत्कृष्ट ग्रस टाशी छिरिङ (३८ अंक), वरिष्ठ श्रेणी विजेता तुलसी भट्ट (४० अंक), महिला विजेता तारा कार्की चित्रकार (३५ अंक), महिला उपविजेता सुमित्रा खड्का (३० अंक), सबैभन्दा लामो ड्राइभ नोर्बुछिरिङ शेर्पा र पिनको नजिक अनिलकुमार सिन्हा भए।
विजेताहरूलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्धतालाई जोड दिएका थिए।



























































