भनिन्छ, राजनीति अनन्त संभावनाको खेल हो । यहाँ जहिले पनि र जे पनि हुनसक्छ भन्ने उदाहरण बारम्बार देखिँदै आएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा पछिल्लो कालखण्डमा देखिएका दुई शक्तिशाली कम्युनिस्ट पार्टीबीच एकता भएको छ । हिजो फागुन ७ गते प्रजातन्त्र दिवसका दिन व्यवहारमा कम्युनिज्मको मूलभूत सिद्धान्त त्यागेका दुवै पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने सहमतिमा हस्ताक्षर गरी दुई दलबीचको एकीकरणलाई मूर्तरूप दिएका छन् ।


ADVERTISEMENT


सर्वहाराको अधिनायकवाद वा कम्युनिस्टको समाज बनाउने र राज्यले जनता जीवनमा नियन्त्रणलगायत पूर्ण जिम्मेवारी लिनुपर्ने धारणा त्यागेर बहुदलीय प्रतिस्पर्धामा आफ्नो श्रेष्ठता कायम गर्ने जनताको बहुदलीय जनवाद अपनाएको नेकपा (एमाले)तथा माओवाद र एक्काइसौं शताब्दीको जनवादको नाममा लोकतान्त्रिक मार्ग अवलम्बन गरेको नेकपा (माओवादी केन्द्र)को भन्ने दलहरूको अब औपचारिक विसर्जन भएको छ । अबको नेपाली राजनीतिमा कम्युनिस्ट पक्षको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्नेछ । तर, दुई दल मिलेर एक भए पनि महाधिवेशन नहुँदासम्म द्विअध्यक्षात्मक प्रणालीबाट पार्टी सञ्चान गरिने सहमति भएको छ ।


ADVERTISEMENT

# # #


आजका सबै दैनिक पत्रिकामा एमाले र माओवादीे एकता मुख्य समाचारको विषय बनेको छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि दुईवटा बराबरका कुर्सीमा बसेर एमाले अध्यक्ष ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई पार्टी एक भएको घोषणा गरेका छन् । दुई नेताले हस्ताक्षर गर्दै गरेको एमाले नेता प्रदीप ज्ञवालीले खिचेको तस्बिरलाई कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट, राजधानी तथा नयाँ पत्रिकाले प्रकाशित गरेका छन् । राजधानी तथा नयाँ पत्रिकाले भने तस्बिरको स्रोत खुलाएका छैनन् । गोरखापत्रले प्रधानमन्त्री निवासको बैठकमा नेताहरू बसेको तस्बिर प्रकाशित गरेको छ ।

कान्तिपुरका अनुसार अब थप एकतासम्बन्धी काम अघि बढाउन दुईवटा कार्यदल निर्माण गर्ने समझदारी भएको छ । एउटाले व्यवस्थापन सम्बन्धी कार्य हेर्नेछ भने अर्कोले विधानलगायत दस्तावेज बनाउने जिम्मेवारी पाउनेछ । यिनै प्रतिवेदनका आधारमा नेताहरूको व्यवस्थापन, केन्द्रीय समिति, स्थायी समिति र पोलिट ब्युरोलगायत कस्तो हुने भन्ने औपचारिक टुंगो लाग्नेछ । त्यसैले सोमवार राति सार्वजनिक गरिएको सहमतिलाई ‘एकीकरणका प्रारम्भिक आधारहरू’ भनिएको छ ।

नागरिकले एकीकरणका प्रारम्भिक आधारलाई बुँदागत रूपमा प्रस्तुत गरेको छ । त्यसमध्ये मुख्य बुँदामा एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने, पार्टीको निर्देशक सिद्धान्तमा माक्र्सवाद–लेनिनवाद रहने र आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा समझदारीका साथ भव्यरूपले सम्पन्न गरिने उल्लेख गरिएको छ ।

अन्नपूर्ण पोस्टले पाँच महिने गठबन्धन यात्राको समय तालिका प्रकाशित गरेको छ । यो तालिकाअनुसार असोज १७, २०७४ मा प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा तालमेल र लगत्तै पार्टी एकता गर्ने सहमति । एकता संयोजन समिति गठन । कात्तिक १ गते प्रदेश र प्रतिनिधि सभामा ६० र ४० प्रतिशत उमेदवार उठाउने गरी निर्वाचन क्षेत्र बाँडफाँट । कात्तिक २१ गते वाम गठबन्धनको साझा चुनावी घोषणापत्र । पुस २५ गते प्रदेश मुख्यमन्त्री तथा राष्ट्रिय सभासम्बन्धी सिट बाँडफाँट गर्न कार्यदल गठन । माघ ३ गते राष्ट्रिय सभा निर्वाचनमा एमालेले २८ र माओवादीले १४ सिट पाउने गरी बाँडफाँट । माघ ७ गते सरकारको सुशासन, विकास र कार्ययोजना सम्बन्धमा सुझाव दिन वामदेव गौतमको नेतृत्वमा कार्यदल गठन । माघ १४ गते प्रदेश मुख्यमन्त्री तथा सभामुख र उपसभामुखको बाँडफाँट । प्रदेशमा एमाले ७० र माओवादी ३० प्रतिशतको भागबन्डा । फागुन ३ गते माओवादी अध्यक्ष दाहालको सिफारिसमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त । फागुन ७ गते पार्टी एकीकरणको औपचारिक घोषणा ।