गोरखा – लामो समयदेखि निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको गण्डकी प्रदेशस्तरीय ज्येष्ठ नागरिक आश्रम गोरखा नगरपालिका–१०, छेपेटारमा सञ्चालनमा आएको छ। शनिबारदेखि मानवसेवा आश्रमको व्यवस्थापनमा आश्रम सञ्चालनमा ल्याउँदै चितवनमा संरक्षण दिइँदै आएका २५ जना ज्येष्ठ नागरिकको गृहप्रवेश गराइएको हो।
गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट उद्धार गरी चितवनस्थित मानवसेवा आश्रममा संरक्षण प्रदान गरिँदै आएका ज्येष्ठ नागरिकमध्ये गोरखा घर भएका २५ जनालाई छेपेटारस्थित नवनिर्मित आश्रममा स्थानान्तरण गरिएको हो। आगामी दिनमा गण्डकी प्रदेशभित्रका अन्य जिल्लामा रहेका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई समेत आश्रममा ल्याएर सेवा प्रदान गरिने आश्रमले जनाएको छ ।
गण्डकी प्रदेश सरकारको करिब साढे ४ करोड रुपैयाँको लागतमा निर्माण भएको उक्त आश्रम सञ्चालनको जिम्मेवारी मानवसेवा आश्रमलाई दिइएको छ। यसका लागि प्रदेश सरकारको एकीकृत सेवा कार्यालय गोरखा र मानवसेवा आश्रमबीच पाँच वर्षका लागि सम्झौता भएको छ।
सम्झौताअनुसार जीवनयापनको कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएका, पालनपोषण तथा हेरचाह गर्ने परिवारका सदस्य नभएका र परिवारका सदस्य भएर पनि उपेक्षित जीवन बिताउन बाध्य ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई आश्रममा संरक्षण प्रदान गरिनेछ।
आश्रमले ज्येष्ठ नागरिकको उद्धार, संरक्षण, सुरक्षित आवास, स्वास्थ्य उपचार तथा पारिवारिक पुनर्मिलनलगायतका सेवा सञ्चालन गर्नेछ। चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले आश्रम सञ्चालनका लागि ३० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ।
तीन रोपनी सरकारी जग्गामा निर्माण गरिएको आश्रम परिसरमा कार्यालय भवन, ज्येष्ठ नागरिकका लागि आवास गृह र सुरक्षा गार्डका लागि छुट्टै भवन गरी तीनवटा संरचना छन्। आवास गृहमा सभाहलसहित २४ वटा कोठा रहेका छन्। आवश्यक व्यवस्थापनका केही काम बाँकी रहे पनि भवनमा विद्युत्, रंगरोगनलगायतका काम सम्पन्न भइसकेका छन्।
लामो समयसम्म सञ्चालनको प्रतीक्षामा रहेको यस आश्रमले सेवा शुभारम्भ गरेसँगै अब गण्डकी प्रदेशका असहाय, अशक्त तथा परिवारबाट उपेक्षित ज्येष्ठ नागरिकले आफ्नै प्रदेशमा सुरक्षित आवास र आत्मीयतापूर्ण सेवा पाउने बाटो खुलेको छ।


























