नेपाली सेनाका रथी (अवकास प्राप्त) बलदेव महतले भखैरै ‘फाइदै फाइदा’ नामक हास्यब्यङ्ग्य संग्रह बजारमा ल्याएका छन् । उक्त पुस्तकका बारेमा लेखक महतसंग हिमालयपोष्टले कुराकानी गरेको छ ।


ADVERTISEMENT


हास्यब्यङ्ग्य संग्रह ‘फाइदै फाइदा’ प्रकाशन गर्नुभएको छ । यसको लागि बधाई छ । यो बीचमा एउटा लेखक भएपछि कस्तो अनुभव हुँदोरहेछ ?


ADVERTISEMENT

# # #


सर्वप्रथम त धन्यवाद । यो पुस्तक धेरै समय अघिदेखि नै लेखिएको हो । मेरो पेशा सैनिक भएकाले र त्यहाँको नियम, कानुन र मयार्दा जस्ता विभिन्न खालका पक्षहरुले गर्दा प्रकाशन हुन पाएन । यो पुस्तक प्रकाशनले सैनिक मर्यादालाई कुनै आक्षेप नलागोस् भन्ने उद्देश्यले धेरै वर्षदेखि यसलाई थन्क्याएर राखेको थिएँ । म अवकास भएपछिको तीन महिनामा मैँले यो पुस्तक निकालेको छु । विमोचनपछि सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ । यसले अझ प्रेरणा र प्रोत्साहन पनि मिलेको छ ।

‘फाइदै फाइदा’ भित्र के छ ? यो कस्तो खालको किताब हो ? बताइदिनुस् न ।

यो एउटा हास्यब्यङ्ग्य संग्रह हो । यसमा १३ वटा हास्यब्यङ्ग्य निबन्धहरु छन् । यसमा सामाजिक, आर्थिक, राजनैतिक र अन्य घटनाहरुलाई समावेश गरिएको छ । सत्याल प्रकाशनले यसलाई बजारमा ल्याइसकेको छ ।

यो पस्तक निकाल्दै गर्दा क कसलाई सम्झिन चाहानुहुन्छ ?

सम्झिन त सबैभन्दा पहिला पाठकलाई नै सम्झिन्छु । किनभने यो पुस्तक पाठकहरुका लागि नै लेखिएको हो । त्यससंगै प्रकाशनका लागि सहयोग पुर्याउने सत्याल प्रकाशन र लेख्नका लागि सहज वातावरण तयार गरिदिने मेरो परिवार लगायतका मित्रहरुलाई सम्झिन चाहान्छु ।

      जागिरे भएर अहिले रिटायर्ड हुनुभएको छ । फर्केर हेर्दा आफ्नो पेसालाई कसरी सम्झिनुहुन्छ ?

म ३८ वर्ष सैनिक पेसामा आवद्ध भएँ । यो निकै नै लामो समय हो । यसमा विभिन्न स्थानमा रहँदा फरक फरक अनुभवहरु रहे । आफूसमक्ष आएको जिम्मेवारी मैँले इमान्दारिताका साथ पूरा गरेँ । नेपाली सेनामा ३८ वर्ष सेवा गरेर फर्किँदा सम्मान र सन्तुष्टि दुबै मिल्यो । जसले मलाई आगामी दिनमा जीवन गुजार्ने महत्वपूर्ण उर्जा पैदा गर्नेछ ।

उसो भए अबका दिनमा तपाईको उद्देश्य के हो ?

यसमा मैँले खासै ठूलो सोच राखेको छैन । म एउटा अवकास प्राप्त सैनिक व्यक्ति र एउटा नागरिक थिएँ । अब म एउटा लेखक पनि भएको छु । बाँकी जीवन म लेखनमै बिताउनु चाहान्छु । यस अघि पनि मैँले कथा संग्रह लेखिसकेको छु । जुन धेरै रुचाइएको पनि थियो ।

अन्त्यमा, तपाईले ३८ वर्ष सैनिक पेसामा रहेर देशको सेवा गर्नुभयो । अहिले लेखक पनि बन्नु भएको छ । देशको आगामी भविष्य कस्तो देख्नुहुन्छ ?

यसमा म एकदमै सकारात्मक नै छु । राजनीतिक दलका नेताहरुले राजनीतिक संक्रमण सकेर अब आर्थिक विकासको एजेण्डा बाकेका छन् । छाटो समयमा नै हामीले विभिन्न परिवर्तनहरु देख्न पाएका छौँ । निर्वाचन सम्पन्न भएसंगै नयाँ सरकार पनि चयन भएको छ । यसले सकारात्मक उर्जा पैदा गर्ने छ र अब हामी एक नयाँ परिवर्तन देख्नेछौँ । जुन विकासित र समृद्ध नेपाल हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।