काठमाडौँ– नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका कार्यहरु सरकारको निर्णय बमोजिम अगाडि सार्ने बताएका छन् ।
बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले सो धारणा व्यक्त गरेका हुन् ।
नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको बताउदैँ उनले लामो समयपछि अध्यक्ष पाएको बोर्डको जिम्मेवारी आफूमा आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौतिहरु रहेको उल्लेख गरे ।
पूँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसावले प्राथमिकतामा राखेर पूँजीबजार विकासको काम गर्ने उनको भनाई छ । ‘नयाँ स्टक एक्सचेन्जको सवालमा म स्पष्ट छु । नेपाल सरकारको नीति निर्देशन जे हुन्छ । त्यही अनुसार अगाडि बढ्ने हो’, उनले भने, ‘धेरै विषयहरू अगाडि बढेको स्थिति छ । सरकारले गठन गरेको समितिले सुझाव बुझाएको अवस्था छ । अब सरकारको के निर्देशन आउँछ । त्यही अनुरुप अगाडि बढ्ने हो ।’
बोर्डमा नेतृत्वको अभावमा अड्किएका कामहरू अगाडि बढाउने उनले जनाउदैँ उनले भने, ‘स्थायी नेतृत्व नहुँदा आईपीओ रोकिएको थियो । त्यो समस्या समाधान हुँदै जान्छ’, उनले भने । साथै उनले आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने समेत दाबी गरेका छन् ।
अध्यक्ष श्रेष्ठले एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिने पहिलो निर्णय गरेका छन् ।