काठमाडौँ– फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्रयापमा फन्दामा पारेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २५ वर्षीया समृद्धी मगर, काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई हाल काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने ३० वर्षीय दिपेन्द्र दर्जी तथा काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई हाल हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २६ वर्षीय वर्षा दर्जी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
यसरी पारियो फन्दामा
रौतहटका २३ वर्षीय युवक पेसाले अहेब हुन् । काठमाडौंको एक अस्पतालमा काम गर्दै आइरहेका उनी सामाजिक सञ्जालमा पनि सक्रिय छन् । अनलाइनबाटै सेवा दिने भएकाले धेरैले उनलाई घरमै बोलाउँछन् । उनी घरमै पुगेर बिरामीलाई ड्रेसिङ गरिदिने र आवश्यक औषधि उपलब्ध गराइदिन्थे ।
सोही क्रममा ६ मंसिर गते उनलाई वर्षा दर्जीले घरमा बोलाइन् । दर्जीले घाउको ड्रेसिङ गरिदिन कौशलटारमा बोलाएकी थिइन् । तर, त्यहाँ पुग्दा वर्षाको खुट्टामा केही घाउ थिएन । वर्षाले ड्रेसिङ गर्नुपर्ने अर्कै व्यक्ति भएको बताइएपछि अहेब उनको कोठामाा पुगे ।
त्यहाँ पुगेर युवतीले युवकलाई कोठामा एकछिन बस्नु है भन्दै बाहिर निस्किइन् । एकछिनमा फेरि आएर उनले आफ्नो कपडा फुकालिन् र युवकको कपडा पनि खोलिन् । तर, युवतीको व्यवहार अस्वभाविक लागेपछि युवक कपडा लगाएर कोठाबाट निस्कन खोजे ।
यसैगरी पीडितले ढोकाको चुकुल खोली बाहिर निस्किँदै गर्दा समृद्धि मगर भन्ने अर्को एक महिला आई पीडितसँग कुरा गर्नु छ भनि कोठाभित्र लगि जबरर्जस्ती करणी मुद्दामा फसाइ दिउँ वा सहमतिमा आउनु हुन्छ भन्दै धम्की दिएको प्रहरीको भनाइ छ ।
रु १८ लाखदेखि रकमको माग गरी रु आठ लाख दिने शर्तमा कुरा मिलाइ भक्तपुरको मध्यपुर ठिमी–३ कौशलटारमा रहेको वेभ सेकुवामा यही मङ्सिर ११ गते बिहान रु २५ हजार नगदसहित दिपेन्द्र दर्जी र समृद्धि मगरले लिएको र समृद्धिले दिएको सिदार्थ बैंकको क्युआर खातामा रु २५ हजार थप जम्मा गरेको तथा सोही स्थानमा रु ७५ हजारको चेक लिएको तथा एक जना व्यक्ति हाल फरार रहेको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले बताए ।
पक्राउ परेकाहरुको साथबाट एनआइसि एसिया बैंकको वर्षाको नाममा काटी दिएको रु ७५ हजारको चेक एक थान, नगद रु एक हजारको एक थान र रु ५०० का ३९ थान गरी जम्मा रु २० हजार पाँच सय, विभिन्न कम्पनीका मोबाइल चार थान बरामद गरिएको तथा निज दिपेन्द्र दर्जी ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मा विसं २०७१ मा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट पक्राउ परी सजाय भुक्तान गरेको व्यक्ति रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।


























































