काठमाडौँ – उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा दिगो पूर्वाधारका लागि जियोटेक्निक्स सम्मेलनको उद्घाटन गर्दै सिंहले जलवायु परिवर्तनको असरका कारण भौगोलिक बनावट जोखिमयुक्त हुदै गएकाले यसलाई नविनतम प्रविधिद्वारा बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् ।
नेपालको भौगोलिक बनावटका कारण धेरै प्राकृतिक प्रकोपका घटनाहरु भएकाले अब नवीनतम जियोटेक्निक्सको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु देखिएको उनले बताए । त्यस्तै उनले अव्यवस्थित सहरीकरण, नदी किनारको अतिक्रमण, गलत संरचना निर्माणले पनि बेला बेलामा नागरिकहरु प्रभावित हुनुपरेको जिकिर गरे ।
सम्मेलनमा २५ भन्दा बढी देशका १ सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिहरू र ३ सय भन्दा बढी सहभागी रहेको आयोजक नेपाल जियोटेक्निलकल सोसाइटीले जनाएको छ ।