काठमाडौँ– भारतीय आपराधिक समुह लरेन्स विश्नोइको नाम लिएर नेपाली व्यवसायीलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार विश्वोइको नाम लिदैँ आफू सोही ग्याङको सदस्य हुँ भन्दै नेपाली व्यवसायीहरुलाई धम्क्याएको आरोपमा झापाका झापाका हरिचन्द्र फुँयाल पक्राउ परेका हुन् ।
उनलाई सीआईबी टोलीले झापाबाट पक्राउ गरेर शुक्रबार काठमाडौं ल्याएको हो । पक्राउ फुँयालले व्यवसायीहरुलाई फोन मार्फत मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान समेतलिने धम्की दिएका थिए ।
उनले किन त्यसो भनेर धम्क्याएका हुन् ? भन्नेबारे अनुसन्धान जारी नै रहेको सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी हविन्द्र बोगटीले बताए । हाल उनी प्रसाईँको निर्देशनबाट परिचालित हो वा होइनन् भन्ने विषयमा पन िअनुसन्धान भइरहेको प्रवक्ता बोगटीले सुनाए ।
उनका अनुसार फुयाँलविरुद्व विश्वनोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो । त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा उनी पक्राउ परेका हुन् ।
रोचकको कुरा के छ भने जसको नाम लिएर धम्की दिएको भनिएको छ, ती दुवै व्यक्ति जेल र हिरासतमा छन् । प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । उनीमाथि अहिले साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरिरहेको छ ।
यसैगरि, विश्नोई भने अहिले भारतको सबैभन्दा तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ । पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेलमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटक–पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका थिए ।