काठमाडौँ – एसीसी यू–१९ एशिया कप क्रिकेट अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकाले दिएको २३४ रनको चुनौती पच्छ्याइरहेको छ । युएईको सारजहास्थित सारजहा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनायो ।
श्रीलंकका लागि सरुजन संमुगणथनले सर्वाधिक ६२ रन बनाए । उनले ९९ बलमा २ चौका प्रहार गरे । यस्तै लक्विन अभेसिंहेले ५३ बलमा २ चौका र १ छक्काको मदतमा ५० रन जोडे भने कभिजा गमागेले नटआउट ३७ रन हाने । यस्तै विमथ दिनसारा र दुलनिथ सिगेराले समान २४–२४ रन बनाए ।
बलिङतर्फ नेपालका सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ४५ रन खर्चिए । यस्तै युवराज खत्रीले २ विकेट लिँदा कप्तान हेमन्त धामी र नरेन साउद समान १–१ विकेट लिए ।
श्रीलंकाले दिएको ३४ रनको चुनौती नेपालले पच्छ्याइरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले १७ ओभरको समाप्तीमा १ विकेट गुमाएर ६२ रन बनाएको छ । नेपालको इनिङ मयन यादव र अर्जुन कुमालले सम्हालिरहेका छन् ।
पहिलो विकेटका रुपमा आकाश त्रिपाठी भने १९ रन बनाएर आउट भइसकेका छन् । उनले पहिलो विकेटका लागि मयनसँग मिलेर ३९ रनको साझेदारी गरेका थिए । ८ राष्ट्र सहभागी यू–१९ एशिया कपमा नेपाल समूह ‘बी’मा रहेको छ । जहाँ श्रीलंकासँगै बंगलादेश र अफगानिस्तान समेत रहेका छन् ।