काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजको बयान सकिएको छ ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको सम्बन्धमा पक्राउ लामिछानेसंग काठमाडौँस्थित सरकारी वकिल कार्यालयमा उपन्यायाधिवक्ता फणीन्द्र कटुवालले बयान लिएका हुन् । उनीसंग उपन्यायाधिवक्ता कटुवालले बिहान ९ बजेदेखि करिब साढे ६ घण्टा लामो बयान लिएको छ ।
आइतबार पनि बयानलाई निरन्तरता दिइने सरकारी वकिलको कार्यांलय भद्रकालीका प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठको भनाई छ । श्रेष्ठका अनुसार आइतबार बयान सक्ने तयारी छ ।
पूर्वगृहमन्त्रीसमेत लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई भैरहवा लगेर पनि बयान लिइएको छ । २ कात्तिकमा प्रहरीले पक्राउ गरेका लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ ।
सभापति लामिछानेलाई बयानका लागि काठमाडौं ल्याउने भएपछि हिजो साँझ र आज बिहानदेखि रास्वपाका नेता कार्यकर्ता जिल्ला सहकारी वकिलको कार्यालय माइतीघर पुगेका थिए ।