काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शनिबारबाट काठमाडौंमा नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुदैछ ।


ADVERTISEMENT


काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एनिपिएलको भव्य शुभारम्भसंगै उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुने क्यानले जनाएको छ । प्रतियोगिता अघि शुक्रबार त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एनपीएलको सवै तयारी पूरा भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेपाली क्रिकेटमा नयाँ उचाइमा पुर्याउने क्यानको प्रयासमा सबैले सहयोग गरेको उनले बताए । उनले भने, ‘नेपाल प्रिमियर लिगमार्फत नेपाली क्रिकेटलाई नयाँ उचाईंमा पुर्याउने एउटा प्रयास सुरु हुँदैछ । एनपीएलका लागि गर्नुपर्ने तयारी ९९ प्रशित हामीले गरिसकेका छौँ । सानोतिनो तयारी त भोलि १२ः१५ बजे पहिलो बल फाल्दासम्म पनि भइराख्छ । यद्दपि सबै कुराको तयारी भइसकेको छ ।’

एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

टीमका मार्की खेलाडीहले एनपीएलप्रति निकै उत्साहित भएको बताएका छन् । त्यस्तै उनीहरुले टीमको प्रशिक्षण राम्रो भएको र टीम सेट भएको जनाएका छन् ।

प्रतियोगिता र तयारीबारे के भन्छन् ८ टोलीका कप्तान ? 

रोहित पौडेल (कप्तान, लुम्बिनी लायन्स ) : “हामीले तिलोत्तमाको एक्स्ट्राटेक ओभल मैदानमा ८ दिन अभ्यास गर्यौं । दैनिक ६–७ भण्टा राम्रोसँग अभ्यास गर्न पायौँ । यस हिसाबले हामीले राम्रो तयारी गरेका छौँ । नेपाल प्रिमियर लिगले क्रिकेटलाई सहयोग गर्छजस्तो लाग्छ । अहिले यसको जुन हिसाबको चर्चा छ, त्यो निकै राम्रो कुरा हो । एनपीएलका लागि आतुर छौँ ।”

दीपेन्द्रसिंह ऐरी (कप्तान, सुदूरपश्चि रोयल्स) : “हाम्रो तयारी राम्रो भयो । केही अभ्यास खेल खेल्न पायौँ । एनपीएलका लागि म र मेरो टोली निकै उत्साहित छ ।”

कुशल भुर्तेल (कप्तान, पोखरा एभेन्जर्स) : “आफ्नै घरेलू मैदान पोखरामा गएर ८–१० दिन अभ्यास गर्यौ । जसरी भारतबाट हाम्रो कोचिङ स्टाफहरु आउनु भयो, त्यसले हामीलाई धेरै सहयोग गरेको छ । हामीले हिजो मुलपानीमा एउटा अभ्यास खेल खेल्न समेत पाएका थियौँ । हाम्रो सबै खेलाडी राम्रो लयमा छन्, साथै एनपीएल खेल्न उत्साहित पनि ।”

सन्दीप लामिछाने (कप्तान, विराटनगर किंग्स) : “हाम्रा लागि सुरुवाती केही दिन चुनौतीपूर्ण थिए । तर, विस्तारै हामीले वातावरणमा घुलमिल हुन पायौँ । हामीसँग जुन, टोली छ, त्यो निकै सन्तुलित टोली छ । भोलिदेखि एनपीएल सुरु हुँदैछ । एनपीएल आयोजनाका लागि क्यानका सदस्य लगायत संलग्न सबैलाई धन्यवाद दिन चाहन्छु । हामी सबै उत्साहित छौँ ।”

अनिल साह (कप्तान, जनकपुर बोल्ट्स) : “हामीले अभ्यास काठमाडौँ आएर मात्रै गर्न पायौँ । त्यो भन्दा अगाडि हामीसँग जनकपुरमा मैदान उपलब्ध पनि थिएन र आधिकारिक क्याम्प यतैबाट सुरु गर्यौ । काठमाडौँमा हामीले एउटा अभ्यास खेल समेत खेल्न पायौँ । एउटा टिमको रुपमा हेर्दा हाम्रो टिम सन्तुलित छ र विदेशी खेलाडी आएर झन सन्तुलित टिम बनेको छ ।”

करण केसी (कप्तान, काठमाडौँ गुर्खाज) : “हाम्रा विदेशी खेलाडी सबै आइसकेका छन् । हामी गएको एक महिनादेखि तयारी गरिरहेका छौँ । हाम्रो तयारी रामै चलिरहेको छ । एनपीएलका लागि उत्साहित छौँ ।”

कुशल मल्ल (कप्तान, चितवन राइनोज) : “हामीले चितवनमा एक हप्ताजति अभ्यास गर्यौं । एनपीएल स्टार स्पोर्टस्मा प्रत्यक्ष प्रशारण हुन गइरहेकाले त्यसले हामीलाई विश्वस्तरमै चिनिने अवसर छ ।:

सोमपाल कामी (कप्तान, कर्णाली याक्स) : “हाम्रो तयारी राम्रो भयो । एक हप्ताजति हामीले काठमाडौँमा तयारी गर्यौं । मलाई एकदमै खुसी लागेको छ कि हामीले कर्णालीमा ट्यालेन्ट हन्टबाट वा अक्सनबाट जति पनि खेलाडी लिएका छौँ, सबै काबिल छन् । उनीहरुलाई आफ्नो कौशल देखाउन अवसर चाहिएको थियो । सबैलाई थाहा होला, हाम्रो टिम युवाले भरिएको छ र जति पनि विदेशी खेलाडीहरु छन्, सबै अनुभवी लिएर आएका छौँ । मलाई आशा छ हामीले यो प्रतियोगितामा राम्रो गर्नेछौँ । तर, हाम्रो पहिलो लक्ष्य भनेको चाहे शिखर धवन होस् वा बाबर हायात, सबै विदेशी खेलाडीबाट जति सिक्न सकिन्छ, प्रयास गर्छौैं । एनपीएलले खेलाडीका लागि ठूलो अवसर सिर्जना गरिदिएको छ, यसबाट राम्रो नेपाली खेलाडी उत्पादन गर्ने अवसर मिल्नेछ ।”

कार्यक्रममा एनपीएलको आधिकारिक मस्कट सार्वजनिक गरिएको छ । एनपीएलको मस्कट जीत हिउँ चितुवा रहेको छ । एनपीएलका लागि त्रिवि क्रिकेट मैदानको पिचदेखि प्याराफिटसम्ममा परिवर्तन गरिएको छ भने भिआइपी सिटलाई बढाइएको छ ।