काठमाडौँ – चर्चित भारतीय क्रिकेटर शिखर धवन भोलिदेखि काठमाडौँमा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् । उनी शुक्रबार साँझ काठमाडौँ उत्रिएका हुन् ।
एनपीएलमा धवन कर्णाली याक्सबाट खेल्दैछन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टिम मालिक गृहेन्द्र घिमिरे लगायतको टोलीले पञ्चेबाजासहित भव्य स्वागत गरेको थियो । उनको स्वागतका लागि समर्थक समेत विमानस्थल पुगेका थिए ।
नेपाल आइपुगेपछि विमानस्थलमा पत्रकारसँग बोल्दै धवनले आफू पहिलो पटक नेपाल आउन पाउँदा निकै राम्रो महसुस भएको बताए । आफूले नेपाली क्रिकेट र समर्थकबारे धेरै सुनेको र अब त्यसको अनुभव गर्न नेपाल आइपुगेको बताउँदै उनले भने, ‘गब्बर आगया हैँ नेपाल (गब्बर नेपाल आइसक्यो) ।’ शिखरलाई भारतीय क्रिकेटका गब्बर सिंह भनेर चिनिन्छ ।
एनपीएल नेपाली क्रिकेटको लागि कोशेढुंगा साबित हुने भन्दै शिखरले आफ्नो अनुभव नेपाली खेलाडीसँग साट्न आतुर रहेको बताए । साथै उनले आफ्नो नेपाल बसाईका क्रममा पशुपति नाथको दर्शन गर्ने र माउन्टेन फ्लाइडमार्फत सगरमाथाको अवलोकन गर्ने योजना समेत रहेको सुनाए ।
शिखरको टोली कर्णाली याक्सले एनपीएलको पहिलो खेल सोबार जनकपुर बोल्ट्सविरुद्ध खेल्दैछ । भोलि देखि सुरु हुने एनपीएलको पहिलो संस्करणको उउद्घाटन खेलमा भोलि विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
प्रतियोगितामा नेपालका विभिन्न प्रदेश सहरको नामका ८ टोलीले एनपीएलमा प्रतिस्पर्धा गर्नेछन् ।



























































