काठमाडौँ – काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले पहिलो जित हात पारेको छ । बुधबार भएको रोमाञ्चक खेलमा विराटनगरले लुम्बिनीविरुद्ध २ विकेटको सनसनीपूर्ण जित हात पारेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले विष्फोटक ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९१ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाउँदै जित हात पारेको हो ।
विराटनगरको जितका लोकश बमले शानदार ब्याटिङ गरे । उनले ४७ बलमा ३ चौका र ६ छक्का ठोक्दै ७१ रन बनाए । यस्तै बासिर अहमदले २० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रन बनाए भने मार्टिन गप्टिलले १७ बलमा ६ चौकाको मदतमा २८ रन जोडे ।
अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा क्रिस सोलले १ चौका र २ छक्का प्रहार गरेपछि विराटनगरले लगातार दोस्रो हारपछि पहिलो जित चाख्न पाएको हो ।
बलिङतर्फ लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिए भने रमोन सिमोण्डस् र साद बिन जफारले समान २–२ विकेट हात पारे । यस्तै विवेक यादवका हातमा १ विकेट रह्यो ।
यसअघि ब्याटिङतर्फ लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । त्यसक्रममा उनले २९ बलमा ४ चौका र २ छक्का प्रहर गरे । यस्तै टोम मुर्सले रनआउट हुनुअघि १७ बलमा ३ छक्का र १ चौकासहित ३० रन तथा विवेक यादलले ७ बलमा ३ छक्का प्रहार गदैै नटआउट १९ रन बनाए ।
बलिङतर्फ कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान १–१ विकेट हात पारे ।



























































