काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पूर्जी जारी भएको छ । बुधबार जिल्ला अदालत पर्साले रविसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्सा जिल्ला अदालतले सानो पाइला सहकारीको बचत रकम अपचलनका विषयमा अनुसन्धान गर्नका अनुमति दिएको जानकारी दिए ।
“अदालतले लामिछानेसहितका १४ जनालाई पक्राउ पुर्जी जारी गरेर अनुसन्धान गर्नका लागि अनुमति दिएको छ”, उनले भने, “अदालतले अनुमति दिएकाहरूलाई कानुनी प्रक्रियाअनुसार पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाउनेछौँ ।”
तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ ।

सहकारी रकम अपचलन मुद्दामा रवी गत कार्तिक २ गते काठमाडौँमा पक्राउ परेका थिए । उनलाई सोही राती काठमाडौँबाट पोखरा लगिएको थियो । त्यसपछि उनीविरुद्ध रुपन्देही, काठमाडौँ र चितवनमा समेत पक्राउ पूर्जी जारी भएको थियो ।


ADVERTISEMENT

# # #


रविलाई पोखराबाट बयानका लागि रुपन्देही लगिएको थियो भने बयान सकिएपछि पोखराबाट फेरि काठमाडौँ ल्याइएको थियो । काठमाडौँमा समेत बयान सकिएपछि उनलाई मंगलबार चितवन लगिएको थियो ।

उनको चितवनमा बयान भइरहेको छ ।