काठमाडौँ – काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ । सुदूरपश्चिमले बिहीबार काठमाडौँ गुर्खाजलाई ७३ रनको विशाल अन्तरले हराएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो । ६८ रनको चुनौती पच्छ्याउँदै मैदान प्रवेश गरेका काठमाडौँका ब्याटर सुदूरपश्चिमका बलरसामू निरीह साबित भए । नरेन साउद एक्लैले ५ विकेट चट्काएपछि काठमाडौँ १५.५ ओभरमा ९४ रनमै समेटिएको हो ।
काठमाडौँका लागि स्टेफन स्किन्जीले सर्वाधिक ३७ रन हाने । उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे । यस्तै सुमित महर्जनले १४ रन बनाउँदा भीम सार्की र जेरहार्ड इरास्मसले समान १०–१० रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।
काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका नरेन साउनले सर्वाधिक ५ विकेट चट्काए । सोक्रममा उनले ३.५ ओभरमा १९ रन मात्रै खर्चिए । यस्तै अविनास बोहराले २ तथा सइफ जैव र ब्राण्डन म्याक्मुलनले समान १–१ विकेट लिए ।
यसअघि ब्याटिङतर्फ सुदूरपश्चिमका लागि ब्राण्डन म्याक्मुलनले अर्धशतकीय पारी खेले त्यसक्रममा उनले ३६ बलमा ३ चौका र ४ छक्काको प्रहारमा ५४ रन बनाए । यस्तै विनोद भण्डारीले २८ बलमा २ चौका र २ छक्कासहित ३५ रन जोडे भने कप्तान दीपेन्द्र सिंह ऐरीले २५ बलमा ३ चौका र २ छक्काको मदतमा ४३ रन बनाए । ओपनर शयद जइबले ११ रनको योगदान गरे ।
बलिङतर्फ काठमाडौँ गुर्खाजका राशिद खानले २ विकेट लिए भने कप्तान करण केसी, जेरहार्ड इरास्मस र साहब आलमले समान १–१ विकेट लिए । यससँगै काठमाडौँले ३ मध्ये २ खेलमा हार व्यहोरेको छ ।
८ टोली सहभागी एनपीएलमा शुक्रबार कर्णाली याक्स र चितवन राइनोज तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।



























































