डोटी–प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयताको जग बसाउनु अहिले प्रदेश सरकारको मुख्य दायित्व रहेको बताएका छन् । दिपायलमा १२ दिनदेखि चलिरहेको ‘७ नम्बर प्रादेशिक महोत्सव’को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


ADVERTISEMENT


‘लामो बलिदानी र संघर्षको बलबाट हामीले संघीयता पाएका छौ र त्यो संघीयता कार्यान्वयनको ऐतिहासिक अभिभारा हाम्रो काँधमा छ,’ समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘त्यसैले यसको भविष्य पनि हाम्रै हातमा छ ।’ संघीयताको व्यवस्थित कार्यान्वयन नभए फेरि जनता संघर्षमा उत्रने उनले बताए । ‘यदि हामीले यसको जग राम्रोसँग बसाल्न नसके फेरि हिजोको जस्तै हुनेछ ।’


ADVERTISEMENT

# # #


प्रदेश सरकार अहिले गम्भीर भएर प्रदेशको जग बसाल्ने कार्यमा जुटेको मुख्यमन्त्री भट्टले बताए । ‘हामी जग बसाल्दै छौं । यसका लागि आवश्यक नीतिगत काम गरिरहेका छौँ । स्थानीय र संघ सरकारसँग समन्वय गर्नेदेखि विकासको खाँका कोर्ने काममा प्रदेश सरकार लागिरहेको छ,’ उनले भने ।

प्रदेश संरचना पहिलोपटक प्रयोग भैरहेकाले सबैले सहकार्य गरेर अघि बढ्नुपर्ने पनि उनले बताए । ‘नयाँ प्रयोग हो । नयाँ प्रयोगलाई स्थापित गर्न सबैको सहयोग चाहिन्छ,’ उनले भने, ‘त्यसैले भूमिका अनुसारको सहयोग गर्न सबै पक्षसंग आग्रह गर्छु ।’

प्रदेश ७ चुनौती र सम्भावनाबीचमा रहेको टिप्पणी गर्दै चुनौतीलाई चिरेर सम्भवना साकार पार्दै ‘नमुना प्रदेश’ बनाउने आफ्नो अभियान रहेको मुख्यमन्त्री भट्टले बताए । उनले भने, ‘तराई, पहाड र हिमालको संगम, विविध जाति–जनजाति र संस्कृती रहेको प्रदेशलाई नमुना बनाउन असहज हुनेछैन भन्ने मेरो बुझाइ छ ।’ नमुना प्रदेश बनाउन आफ्नो मुख्य ‘चार सम्भावना’ उत्पादनयोग्य जमिनको उपयोग, जलस्रोत, पर्यटन र जडिबुटीलाई विशेष प्राथमिकता रहने उनले बताए ।

राजधानीका लागि ज्ञापनपत्र र हस्ताक्षर हस्तान्तरण
समारोहमा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले मुख्यमन्त्री भट्टलाई प्रदेश ७ को राजधानी दिपायल माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । साथमा महोत्सवमा संकलन गरिएको हस्ताक्षर पनि बुझाइएको छ । यसमा चार सय वर्गमिटर कपडामा १ लाखभन्दा बढी हस्ताक्षर रहेको आयोजकले जनाएको छ ।

साथै अध्यक्ष खड्काले मुख्यमन्त्री भट्टलाई ‘७ नम्बर प्रदेशको राजधानी दिपायल किन ?’ शीर्षकको पुस्तक पनि हस्तान्तरण गरेका छन् । २०७१ सालमा डोटी उद्योग वाणिज्य संघले प्रकाशित गरेको थियो । त्यसमा मुख्यमन्त्री भट्टको आलेख पनि समावेश छ ।

‘उहाँ(मुख्यमन्त्री भट्ट)लाई स्मरण गराउनका लागि यो गरेका हौँ । जुन कुराबारे उहाँ आफै जानकार हुनुहुन्छ,’ समारोहमा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष खड्काले भने, ‘अब हामी उहाँको भूमिका हेरेर बसेका छौँ । हिजो बोलेका कुरामा कत्तिको अडिक रहन सक्नुहुन्छ ? हाम्रो पर्खाइ रहनेछ ।’ खड्का राजधानी आन्दोलन संघर्ष समितिका संयोजक पनि हुन्।

राजधानीका विषयमा मुख्यमन्त्री भट्टले आफू संवैधानिक व्यवस्थाअनुसार दिपायल राजधानी बनाउने पक्षमा लागिरहने बताए । ‘डोटीका जनसमुदाय पीडामा छन् । म पनि यहीँको बासिन्दा भएकाले पीडामा छु,’ उनले भने, ‘बिडम्बना राजधानी भैसक्यो । कसले ग¥यो तपाईलाई थाहै छ । अब भाषण गर्नेभन्दा पनि संवैधानिक तवरबाट म लाग्छु ।’ संवैधानिक व्यवस्था अनुसार दिपायल राजधानी बनाउन प्रदेशका सबै सांसदसँग छलफल तथा अन्तक्रियामा लाग्ने उनले आश्वासन दिए ।

‘मुख्यमन्त्री पदसँग राजधानी साटेको’ आरोप निराधार रहेको पनि उनले बताए । उनले भने, ‘म पदको पहिलो हकदार भएर नै मुख्यमन्त्री पाएको हुँ । त्यसमा कुनै सत्यता छैन ।’

समारोहमा प्रदेशसभा सांसद पूर्णा जोशीले दिपायल राजधानी हुनुपर्छ भन्ने पक्षमा आफु सदैब लागिरहने बताइन् । ‘पार्टीको ‘ह्वीप’ लागेको अवस्थामा पनि म दिपायलका लागि मतदान गर्छु,’ उनले भनिन्, ‘सकभर ह्वीप लाग्दैन होला । लागिहाले पनि बरु तिम्रो सांसद पद र सदस्यता लैजाऊ भनेर भोट हालेर बाहिरिन्छु ।’

मुख्यमन्त्री भट्टले भाषण गर्दैगर्दा दिपायल राजधानीका पक्षमा दर्शकले नाराबाजीसमेत गरेका थिए । ‘प्रदेश सरकार होशियार,’ ‘हाम्रो आन्दोलन जारी छ,’ लगायतका नारा लगाएका थिए । दिपायलमा प्रदेशको राजधानी माग गर्दै ५८ दिनदेखि आन्दोलन भैरहेको छ।