काठमाडौँ – उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानीका लागि अनुकुल वातावरण सिर्जना हुँदै गएको बताएका छन् ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समिति बैठकमा पौडेलले सार्वभौम क्रेडिट रेटिङमा नेपालले विश्व समूदायमा नेपालमा लगानीका लागि अनुकुल वातावरण सिर्जना भएको सन्देश गएको समेत बताए ।
उनले अहिले मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढेपनि दबाबमुक्त भने भइनसकेको जिकिर गरे । राजस्व छुटका विषयमा मन्त्रालय होसियार रहेको र राजस्व चुहावट रोक्न समेत ध्यान केन्द्रीत गरेको उनको भनाइ छ । उनले अहिले बैंकहरुमा थुप्रिएको रकम उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्नका लागि आवश्यक पहल भइरहेको पनि बताए । पौडेलले सहकारी लघुवित्त समस्याका विषयमा धेरै छलफल भएको भन्दै निष्कर्षतर्फ उन्मुख रहेको बताए ।
बैठकमा सांसद डा प्रकाशशरण महतले अर्थतन्त्रमा समस्या कायमै रहेकाले यसलाई समाधान गर्न निरन्तर क्रियाशिलता जरुरी रहेको बताए । विदेशी सहयोगमा ऋणको अनुभव निकै तितो रहेकाले अव अनुदान सहयोगमा ध्यान दिनुपर्ने उनले बताए । उनले परिणाम नदिने आयोजनामा ऋण लिने अवस्थाको अन्त्य गर्नुपर्ने उल्लेख गरे ।
त्यस्तै सांसद वर्षमान पुनले पूँजीगत खर्च बढाउनका लागि अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताए । नयाँ चरणको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्ने उनले बताए ।
मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयहरुले व्यहोर्नु परेका नितिगत एवं व्यवहारिक समस्या र समाधानका उपाय सम्बन्धमा समितिले अर्थ मन्त्रालयसंग छलफल गरेको हो ।



























































