काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका चुनौतीको समाधानमा एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


वन तथा वातावरण मन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको २९ औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हावा र प्रकृतिलाई स्वच्छ राख्न अरु विषयमा बेमेल भइरहेका सवै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने उनले बताए । प्रधानमन्त्री ओलीले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न नदिन वन मन्त्रालय र सञ्चार मन्त्रालयले जागरण फैलाउनुपर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा जोड दिए ।

नेपाललाई जलवायु क्षतिपूर्ति दिइनुपर्छ भन्ने कुरा आफूले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा पनि राखेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले यस धर्तीको वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भू-भाग संरक्षित गरेको जनाए ।

प्रधानमन्त्री ओलीले कोप-२९ को समीक्षासहित अहिलेदेखि नै कोप-३० को तयारी थाल्न पनि आग्रह गरे ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका असरहरु हिमाली क्षेत्रमा धेरै देखिएको भन्दै यसमा सजक हुन नसके आगामी पुस्तालाई निकै असर पर्ने बताइन् । जलवायु परिवर्तनका असरकोबारे विश्व समुदायलाई राम्रोसंग जानकारी गराएपनि नेपालमा पनि यसबारे जनचेतना आवश्यक रहेको उनको भनाइ छ ।

त्यस्तै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्याय कायम गर्न आन्तरिक क्षमता बृद्धिका साथै अध्ययन अनुसन्धानलाई पनि प्रभावकारी ढंगले अघि बढाउनुपर्ने धारणा राखे ।

जलवायु सम्मेलनको निष्कर्षलाई जलवायु हितका रुपमा प्रयोग गरिने र त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न मन्त्रालय तयार रहेको उनले बताए ।