पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पनि अदालत उपस्थित गराइने भएको छ ।
सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई बयानका लागि आज पनि जिल्ला अदालत कास्की अदालत उपस्थित गराउन लागिएको हो । लामिाछनेको बयान हिजोबाट सुरु भएको हो ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा दिउँसोबाट सुरु भएको उनको बयान २ घण्टासम्म चलेको थियो ।
मङ्गलवार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएपछि अर्का प्रतिवादी लीला पछाइसँग बयान लिन सुरु भएको थियो । जसका कारण अदालतमा लगिए पनि उनको बयान हुन सकेको थिएन । सोही बीच उनीलाई सांसद पदबाट पनि निलम्बन गरिएको छ ।
कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।
सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।



























































