काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओलीले सकारी ठगी प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक प्रक्रियाबाट नतर्सिन सुझाव दिएका छन् ।
पाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले आफूले गल्ती नगरेको भए न्यायिक प्रक्रियाबाट नतर्सिन र गल्ती गरेको भए सडकमा मान्छे उतार्दैमा न्याय नपाउने बताएका हुन् । उनले भनेका छन्, ‘आफूले गल्ती गरिएको छैन भने कोही पनि न्यायिक प्रक्रियाबाट तर्सिनु पर्दैन । गल्ती गरेको भए सडक अदालतले उन्मुक्ति दिन सक्दैन भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।’
यस्तै उनले सहकारीका बेथिती सुधार गर्न चार तरिकाले काम गर्नुपर्ने औँल्याएका छन्–अनियमिततामा संलग्न जोकोहीलाई बिना मोलाहिजा कारवाही गर्ने, बचतकर्ताको रकम फिर्ता गराउने, सहकारी क्षेत्रको प्रभावकारी नियमन गर्न अधिकारसम्पन्न प्राधिकरण गठन गर्ने र भविष्यमा बचतकर्ताको रकम संरक्षणका लागि संरक्षण कोष निर्माण गर्ने ।
साथै अध्यक्ष ओलीले सत्तारुढ दलका केही व्यक्तिहरु सहकारी प्रकरणमा जोडिएका कुराहरु मिथ्या साबित भइसकेको समेत जिकिर गरेका छन् । उनले सहकारी प्रकरणमा संलग्न जो कोहीलाई पनि कारवाही गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले भनेका छन्, ‘नागरिकहरुको बचत हिनामिना गर्ने कसैलाई पनि छुट दिइनु हुँदैन भन्ने कुरामा हामी स्पष्ट छौँ । जोसुकै होस् दोषीले उन्मुक्ति पाउनु हुँदैन ।’
सहकारी प्रकरणमा साना बचतकर्तालाई प्राथमिकतामा राखेर सम्पूर्ण बचतकर्ताको रकम फिर्ता गराउन सरकारले प्रभारकारी कदम चाल्नुपर्ने उनको भनाई छ ।