काठमाडौँ– हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ ।
माघे संक्रान्तिमा देवघाटमा गएर स्नान गर्दा दुख हरण हुने, सन्तान सुख प्राप्ति हुने र पितृ मुक्त हुने पौराणिक विश्वासको आधारमा देवघाटमा हरेक वर्ष माघे संक्रान्तिमा लाखौँ भक्तजनहरु स्नानको लागि पुग्ने गर्दछन् । मेला परिसर र देवघाट क्षेत्रमा झत्तजनहरुको आवगमन सहज बनाउन र सहजै स्नान गर्न मिल्ने गरी व्यवस्था गरिएको थियो ।
शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो ।
तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो ।
मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी नदी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वका अवसरमा बिशेष मेला लाग्ने गरेको छ ।