काठमाडौँ – नेपाली कांग्रेसले एमालेसंग भएको सहमति अनुसार नै अघि बढ्न आफ्नातर्फबाट मन्त्री भएकाहरुलाई निर्देशन दिएको छ ।
बिहीबार बुढानिलकण्ठमा बसेको संसदीय दलको कार्यसमिति र मन्त्रीहरुको संयुक्त बैठकमा कांग्रेस सभापति शेर बहादुर देउवाले दुईपार्टीबीच कुनै समस्या नरहेको भन्दै सहमति अनुसार नै अघि बढ्न निर्देशन दिएका हुन् । बैठकमा सभापति देउवाले मुलुकमा सुशासन र आर्थिक समृद्धिका लागि कांग्रेस–एमालेबीच सहमतिका साथ सरकार गठन भएको र यसैमा केन्द्रीत भएर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै सवै मन्त्रीले आ-आफ्नो मन्त्रालयमा भइरहेको कामका बारेमा जानकारी गराएका थिए । उनीहरुले एमालेसँग भएको समझदारी अनुसार अघि बढिरहेको धारणा राखेको गृहमन्त्री रमेश लेखकले बताए ।
बैठकले सांसद दिलेन्द्र बडुको संयोजकत्वमा संसदीय दल अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ । संसदीय दलको विधान अनुसार प्रत्येक संसदीय समितिमा एक–एक जना संयोजक तोक्ने व्यवस्था अनुसार केही सांसदहरुलाई नियुक्त गर्ने निर्णय गरेको छ भने अदालतमा बहस गरेर निस्कने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातको निन्दा गरेको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए ।
बैठकले सातामा दुइ दिन मन्त्रीहरुले खुला भेटघाट गर्ने, नागरिकको सुझाव लिने र बाँकी पाँच दिन मन्त्रालयको काममा केन्द्रीत हुन निर्देशन दिएको घिमिरेले बताए ।
त्यस्तै बैठकले संसदीय समितिमा रहेका विधेयकहरुलाई छिटो पारित गर्न र संविधान कार्यान्वयनका लागि नयाँ विधेयकहरु ल्याउनका लागि सरकारको ध्यानाकर्षण गरेको छ ।