काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिने बताएका छन् ।
कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधबार सानेपामा आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक कार्यक्रममा सभापति देउवाले वैदेशिक सहयोगका विषयमा बेला–बेला विरोध हुने गरेको भन्दै मुलुकको हितमा वैदेशिक सहयोग लिन सकिने बताएका हुन् ।
उनले विभिन्न निकायले नेपाललाई अनुदान दिने गरेको र केही ऋण समेत अनुदानमा परिणत हुने गरेको धारणा राखे । एमसीसी पास गर्ने बेलामा ठूलो विरोध भएपनि विरोध भएपनि अहिले राम्रो रहेछ भन्ने सबैले बुझ्दै गएको उनले बताए ।
उनले भने, ‘एमसीसीबारे धेरै ठूलो विरोध भयो । संसदबाट पास गराउनै गाह्रो भयो । अहिले सबैलाई थाहा भयो, यो साँच्चिकै राम्रो रहेछ भनेर । यसले नेपाललाई फाइदै गरेको भन्ने भएको छ ।’
सभापति देउवाले नेपाल भारत र चीनको बीचमा रहेकाले त्यहाको नीतिको असर पर्नु स्वभाविक रहेको र त्यसले फाइदा र बेफाइदा दुवै हुने गरेको धारणा राखे । साथै उनले सरकारले उद्योग भन्दा खोलेर व्यापार गर्न नहुने धारणा राखे । उनले भने, ‘व्यापार गर्ने व्यापारीले हो, उद्योग खोल्ने उद्योगपतिले हो । सरकारले उद्योग खोल्ने होइन, व्यापारी बन्ने होइन ।’
त्यस्तै कांग्रेसका अन्य नेताहरुले परिणाम दिने आयोजनाहरुमा मात्रै नेपालले वैदेशिक सहयोग स्वीार गर्नुपर्नेमा जोड दिएका थिए ।



























































