काठमाडौँ – मलेसियामा जारी आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेटमा नेपालले १३औँ स्थान हासिल गरेको छ । १६ राष्ट्र सहभागी प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको नेपालले १३औँ स्थानका लागि भएको प्लेअफमा मलेसियालाई ७ विकेटले हराउँदै विश्वकप यात्रा समापन गरेको हो ।


ADVERTISEMENT


शुक्रबार मलेसियाको जोहोर क्रिकेट एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलू टोली १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमै समेटियो । ४६ रनको सामान्य चुनौती पाएको नेपालले ११ ओभरमा ३ विकेट गुमाएर जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


मलेसियाका लागि नुरिमान हिदयले सर्वाधिक १५ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । नेपालको जितका लागि कप्तान पूजा महतोले अलराउन्डर प्रदर्शन गरिन् । बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले ४ विकेट लिइन् । त्यसक्रममा उनले ३.५ ओभरमा ९ रन मात्रै खर्चिइन् । त्यसबाहेक बलिङतर्फ नेपालका रचना कुमारी चौकरीले ३ विकेट लिइन् भने रिया शर्मा र सीमा केसीका नाममा समान १–१ विकेट रह्यो ।

ब्याटिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले  ३२ बलमा ४ चौकाको मदतमा नटआउट सर्वाधिक २३ रन बनाइन् । ज्योत्स्निका मरासिनीले ७ रन बनाउँदा सीमा केसीले नटआउट ४ रनको योगदान दिइन् । बलिङतर्फ मलेसियाका लागि मार्सिया किस्टिना बिन्ती अब्दुल्लाहले ३ विकेट लिइन् ।

यसअघि समूह चरणमा नेपालले बंगलादेशसँग ५ विकेटले, स्कटल्याण्डसँग १ विकेटले र अष्ट्रेलियासँग ८३ रनले पराजित भएको थियो ।