काठमाडौँ– गे्रटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल सिंहदरबारभित्रै प्रहरीको घेराउमा परेका छन् । सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएर फर्किन लागेका उनलाई प्रहरीको एउटा समूहले सिंहदरबारभित्रै घेरेका हुन् ।


ADVERTISEMENT


उनका अनुसार, नेपालको कालापानी क्षेत्रबाट भारतीय सेना तत्काल हटाउन प्रतिनिधिसभाले अविलम्ब संकल्प प्रस्ताव पारित गरोस् भन्ने विषयमा सभामुखलाई ज्ञापनपत्र बुझाउन गएका उनीसंगै अर्का अभियन्ता रत्न प्रजापति पनि सिंहदरबार छिरेका थिए । सो क्रममा सभामुख घिमिरेलाई उनकै सचिवालयमा भेटेर नेपालले ज्ञापनपत्र बुझाए । बुझाउनुअघि वाचन गरेर सुनाए पनि । त्यसमा सभामुखले सकारात्मक प्रतिक्रिया दिएको नेपालको भनाई छ ।


ADVERTISEMENT

# # #


संसद् सचिवालयबाट निस्किएर नेपाल र प्रजापति एक चिनजानका सहसचिव भेट्न परराष्ट्र मन्त्रालय छिरे । त्यहाँ करिब आधा घण्टा बिताएर परराष्ट्रबाट निस्किँदा एक युट्यूवरले उनीहरूलाई अन्तरवार्ताका लागि आग्रह गरे । नजिकै रहेको खाली चौरमा उभिएर उनीहरूले अन्तरवार्ता दिए ।

त्यसपछि अन्तरवार्ता सकिएर हिँड्नै लाग्दा अचानक एक हुल प्रहरी उनीहरू भएतिर आए । उनीहरूलाई सिंहदरबारभित्र आउनुको प्रयोजन सोधियो । नेपालले आफू सभामुखलाई ज्ञापनपत्र बुझाएर आएको बताए । ज्ञापनपत्रको चिर्कटो पनि देखाए । सिनियर प्रहरीले ध्यान दिएर हेरे । त्यस चिर्कटोको फोटो खिच्न लगाए । दुवै जनालाई आआफ्नो परिचयपत्र र सिंहदरबारभित्र प्रवेश गर्ने पास देखाउन भनियो । उनीहरूले देखाए ।

प्रहरीको गतिविधि अनौठो लागेर त्यसको कारण सोध्दा जवाफमा प्रहरीले ‘आफ्नो ड्यूटी निभाएका हौँ’, भन्ने उत्तर दिएको उनको भनाई छ । त्यसपछि प्रहरीले उनीहरूलाई निस्किन अनुमति दिए । तर, दुईजना प्रहरी उनीहरू पछिपछि गेटसम्मै आएको नेपालले बताए ।

नेपाल गत पुस २२ गते नेपाल सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ परेका थिए । सिंहदरबार गेटमा धर्ना बस्न खोज्दा निषेधित क्षेत्र तोडेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।