काठमाडौँ– विपक्षी दलहरुले प्रतिनिधि सभाको कार्यसूचीबाट भ्रष्टाचार निवारण ऐन सम्बन्धी संशोधन विधेयकलाई हटाउने कामको विरोध जनाएका छन् ।


ADVERTISEMENT


मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्र र रास्वपाले भ्रष्टाचार सम्बन्धी विधेयकलाई कार्यसूचीबाट हटाउने काम भएको भन्दै विरोध जनाएका हुन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डले सरकारको आग्रहमा संसदले विधेयकलाई हटाइएको भन्दै आक्रोश व्यक्त गरे ।


ADVERTISEMENT

# # #


उनले सरकारले संसद्लाई अपहेलना गरिरहेको र सरकारले जनताका प्रतिनिधिहरुको आवाजलाई ठीक ढंगले सुन्न नचाहेको आरोप लगाए । भ्रष्टाचारका बिषय उठिरहदा राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकलाई नै हटाउनुले सरकार प्रति नै आशंका उत्पन्न भएको उनले बताए ।

यता एमाले प्रमुख सचेतक महेश बर्तौलाले नियमावलीका आधारमा संसद चल्ने विषयलाई ख्याल राख्न माओवादीलाई सुझाव दिए । उनले संसदको सम्भावित कार्यसूचीलाई सभामुखको निर्देशन अनुसार हेरफेर गर्न मिल्ने धारणा राखे । प्रतिपक्षीले दलले नियमावली भन्दा बाहिर गएर धारणा राखेकाले केहि कन्फ्युजन भएको उनको भनाई छ ।

त्यस्तै रास्वपा सांसद गणेश पराजुलीले भ्रष्टाचार विधेयकलाई हटाउने काम भएको भन्दै आपत्ती जनाए । उनले संसदलाई सरकारले पेल्न खोजेको आरोप लगाउनुभयो । सत्तापक्षले प्रतिपक्षीलाई दुईतिहाइको दम्भ देखाएको उनको भनाइ छ ।

उनले संसद सञ्चालनमा सभामुखले आफ्नो स्वविवेक प्रयोग गर्नुपर्ने धारणा राखे । मंगलबारको प्रतिनिधिसभा बैठकमा भ्रष्टाचार सम्बन्धी विधेयकलाइ अघि बढाउने कार्यसूची रहेपनि अन्तिम समयमा हटाइएको थियो ।