काठमाडौँ – प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुटाएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा दफा ६ रहेको निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुटाएको हो । जस अनुसार निजामती कर्मचारी सेवामा चौधौं तह रहने भएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै बैठकमा दफा ७ मा रहेको कार्यविवरण र कार्यसम्झौतामा विषयमा पनि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरुले कुनै स्थानमा सरुवा हुनेबित्तिकै कार्यमूल्याङ्कन गर्न उचित नहुने धारणा राखेका थिए ।

सांसद रघुजी पन्तले कार्यसम्पादन मूल्याङ्कन गर्दा कार्यप्रकृति बुझेर काम सुरु गरेपनि मात्रै गर्नुपर्ने धारणा राखे । त्यस्तै सांसद हितराज पाण्डले कार्यसम्पादन मूल्याङ्कन गर्दा दुई वर्ष वा समयअवधि तोकेर सरुवा गर्न नपाइने व्यवस्था राख्नुपर्ने बताए ।

उक्त विधेयकमाथि निरन्तर छलफल गर्ने र छिटो निष्कर्षमा पुराउने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । उनले समितिमा परेको उजुरीहरु अध्ययन गर्नका लागि सांसद राजेन्द्र पाण्डेको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको बताए ।

यसअघि गत पुष २२ गते बसेको समिति बैठकले उजुरीका सम्बन्धमा अध्ययन गरि टुङ्गोमा पुराउन उपसमिति गठन गर्ने निर्णय गरेको थियो ।