काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा फाल्गुन ५ गते सोमबारदेखि अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुँदैछ ।
काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगीतामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेबननको सहभागीता रहेको छ । प्रतियोगिता खेल्नका लागि सहभागी देशका टोलीहरु नेपाल आएसकेका छन् भने उनीहरु आन्तरिक प्रशिक्षणमा व्यस्त रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा सोमबार घरेलु टोली नेपालले किर्गिस्तानको सामना गर्नेछ । प्रतियोगीताका लागि तयारी राम्रो रहेको सबै टोलीका प्रशिक्षक र कप्तानहरुले जनाएका छन् ।
प्रतियोगीताअघि आइतबार दशरथ रंगशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले खेल खेल्न सबै खेलाडी स्वदेश फर्किसकेको जानकारी दिए । नेपाली टोलीको प्रशिक्षण राम्रो रहेको र नजिता आफ्नो पक्षमा पार्ने विश्वास व्यक्त गरे । यस्ता खेलहरु हरेक बर्ष हुन सके महिला फुटबल राम्रो हुने उनको भनाइ छ ।
त्यस्तै नेपाली महिला टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले प्रतियोगिता नेपालका लागि ठूलो अवसर भएको बताए । खेलका लागि तयारी राम्रो रहेको र मनोबल उच्च रहेको भन्दै उनले राम्रो खेल देखाउने बतइन् ।
नेपालमा पहिलो पटक चार राष्ट्र सम्मिलित अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको एन्फाले जनाएको छ । प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलेर शीर्ष दुई टोलीबीच फाइनल खेल हुने बताइएको छ । प्रतियोगिताको टिकट दर साधारणतर्फ रु ५ सय र भीआइपीतर्फ रु एक हजार तोकिएको छ ।