काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरुप लिने बताएका छन् ।
ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणका विषयमा व्यक्तिगत र राजनीतिक स्वार्थ देखापरेको भन्दै उनले धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरुप लिने बताएका हुन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले केबलकार निर्माणको विरोधमा शनिबारराती भएको घटनाप्रति आपत्ति जनाए ।
‘नेपालको संविधान, ऐन, कानुन अनुसार निजी क्षेत्रलाई केबलकार निर्माणको जिम्मेवारी हामीले नै दिएका हौँ । त्यही अनुसार नै कुनै निजी क्षेत्रले केबलकार निर्माणको काम अघि बढाएको हो । त्यसमा विरोध गर्ने अधिकार सबैलाई छ ।’ उनले भने, ‘तर, विरोधका सीमा हुन्छन्, त्यसलाई सभ्य, संयमित र शान्तिपूर्ण ढंगले अघि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
विरोधका क्रममा मसाल जुलुस प्रदर्शन गर्दा नागरिकका घरमा आगो फाल्ने र सुरक्षाकर्मीमाथि सांगातिक हमला भएको भन्दै उनले सुरक्षाकर्मीको संयमताले थप नोक्सानी हुन नपाएको धारणा राखे । केबलकार निर्माणको विरोधको घटनाले नागरिकहरु आतंकित बनेकाले तत्काल गम्भीर हुनुपर्ने उनले बताए ।
उनले नेपाल बहुभाषिक बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले यस्ता विवाद हुनु दुखद कुरा भएको बताए । ‘विकासको विरोधी यहाँ कोही पनि छैन, धर्म र संस्कृतिको विरोधी कोही पनि छैन । धर्म र संस्कृतिलाई जब हामी व्यक्तिका निजी स्वार्थमा प्रयोग गर्न खोज्छौँ, राजनीतिमा प्रवेश गराउन थाल्छौँ, त्यसले एउटा भयंकर विवादको स्वरुप लिन्छ, जुन हामीले विश्वमा देखैकैँ छौँ ।’ उनले भने, ‘हामी सबै मिलेर बसेको नेपालमा यस्तो खालको स्थिति उत्पन्न हुनु अत्यन्तै दुखःद हो ।’
केबलकार निर्माणका विषयमा निरन्तर बिरोध र झडपका घटना भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।