काठमाडौँ – नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपाललाई दिएको सहयोगप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बिशेष समयमा बास्कोटाले अमेरिकाले सहयोग दिएपछि नै नेपालले लिएको भन्दै सहयोगप्रति ट्रम्पको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन् । उनले अब वैदेशिक सहायता स्वीकार गर्दा आँखा खोल्नुपर्ने अवस्था आएको धारणा राखे । नेपाललाई आएको सहयोगलाई लिएर नेपाललाई ठग बनाइएको र उल्टो प्रहार भएको भन्दै उनले सहयोगका सीमाहरू स्पष्ट पार्नुपर्नेमा जोड दिए ।
‘हेप्नुको पनि सीमा हुन्छ सभामुख महोदय । अमेरिकाले नेपाललाई लामो समयदेखि सहयोग गर्दै आयो । आफ्ना एजेन्सीहरुमार्फत, दूतावासहरुमार्फत सरकारमार्फत ।’ उनले भने, ‘हामीले त्यसलाई स्वीकार गर्यौं । तर, आज हामी फ्रड बनाइएका छौँ र उल्टो प्रहार हामीमाथि भएको छ । जसले हाम्रो राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय छविमाथि आँच पुर्याएको छ ।’
उनले थपे, ‘सहयोग उहाँहरुले दिनुभयो, हामीले लियौँ । तर, सहयोगको मनिटरिङ कसले गर्न पाउनुपर्थ्यो ? त्यो मनिटरिङ किन भएन ? जसले सहयोग दियो, उहाँहरुको पनि जनताको पैसा आएको होला । त्यसो हो भने त्यो फ्रड हामीले गरेको हो कि त्यो फ्रडलाई स्वीकृति दिने काम उहाँहरुले पनि गरेको हो ?’
अन्तराष्ट्रिय सहयोगका विषयमा नेपालको बजेटको सिष्टमलाई पनि सुधार गर्नुपर्ने उनको भनाइ छ । सांसद बास्कोटाले राजतन्त्र फर्काउने र गणतन्त्र मास्ने सपना कहिल्यै पुरा नहुने बताए । उनले सरकारको कामलाई लिएर व्यवस्थामाथिको प्रहार उचित नभएको जिकिर गरे ।
बास्कोटाले प्रतिपक्षीमा रहेका माओवादी लगाएतका दलले पनि मुलुकको व्यवस्थालाई आघात पर्ने काम गर्न नहुने बताए ।