काठमाडौँ– बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघसम्म १ खर्ब रुपैयाँ बढीको व्यवसाय गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनामा बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ७८ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको देखिएको हो।
नेपालमा हाल १४ वटा जीवन बीमा र ३ वटा लघु बीमा कम्पनी रहेका छन् । जसले संयुक्त रुपमा ९६ अर्ब १ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ९.६९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कम्पनीहरुले ८६ अर्ब ९२ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।
अघिल्लो आर्थिक वर्षको माघसम्म बीमा कम्पनीहरुले १ खर्ब ९ अर्ब ५१ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमा कम्पनीहरुको व्यवसाय १०.३० प्रतिशतले बढेको छ।
सबैभन्दा अग्रणीमा नेपाल लाइफ
बीमा कम्पनीहरुमा सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ अगाडि रहेको छ। कम्पनीले २६ अर्ब ५४ लाख रुपैयाँ संकलन प्रिमियम संकलन गरेको छ जसमा पहिलो प्रिमियम बापत् ४ अर्ब ५९ करोड रुपैयाँ, वैदेशिक रोजगार प्रिमियमबापत् १९ करोड ६६ लाख र नवीकरण प्रिमियमबापत् २१ अर्ब २१ करोड ७४ लाख रुपैयाँ संकलन गरेका छन् ।
कुल प्रिमियम संकलनमा दोस्रो रहेको नेसनल लाइफ इन्स्योरेन्सले ११ अर्ब २३ करोड रुपैयाँ, तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेनसले ११ अर्ब १७ करोड रुपैयाँ संकलन गरेका छन् । हिमालयन लाइफले ९ अर्ब ९० कराड, सुर्य ज्योतिले ५ अर्ब ९५ करोड, एसियन लाइफले ५ अर्ब ७ करोड, सिटिजन लाइफले ३ अर्ब ९८ करोड, सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड, मेट लाइफले ३ अर्ब ७३ करो, आईएमई लाइफले २ अर्ब ९० करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ८५ करोड, रिलायवल नेपाल लाइफले २ अर्ब ७९ करोड र सन नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
लघु बीमा कम्पनीमध्ये गार्जियन माइक्रा लाइफले २४ करोड ५१ लाख, क्रेस्ट माइक्रो लाइफले २२ करोड ८४ लाख र लिबर्टी माइक्रो लाइफले १५ करोड १६ लाख रुपैयाँ गरी कुल ६२ करोड ५२ लाख रुपैयाँको बीमा प्रिमियम संकलन गरेका छन् ।