काठमाडौँ – काठमाडौँको नयाँ बानेश्वरमा गुठी पीडित र प्रहरीबीच झडप भएको छ । आइतबार दिउँसो नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति र प्रहरीबीच झडप हुँदा प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्।
सोहि क्रममा, प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छ्न् । डीएसपीको टाउकोमा चोट लागेको छ । घाइते डीएसपी हाल सिभिल अस्पतालको इमरजेन्सीमा उपचाररत छन्।
त्यसैगरी, सो झडपमा परी केही प्रदर्शनकारी पनि घाइते भएका छन् । पछिल्लो समय गुठीका किसानले आन्दोलन गरिरहेका छन्। आफ्नो मागप्रति सरकार अनुदार भएको भन्दै उनीहरू काठमाडौँमा आन्दोलनरत छन् । सरकारले उनीहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले काठमाडौँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेको हो ।