– कुमार दाहाल
अहिले विश्वको अर्थतन्त्र मन्दीमा छ। हामी तेस्रो विश्वयुद्धको संघारमा छौँ। विश्वका झन्डै ३६ देशहरूमा आन्तरिक तथा बाह्य अशान्ति छ। पूर्वी युरोप र पश्चिमी एसियामा युद्ध हुँदैछ। यो युद्धले झण्डै विश्वको दुईतिहाइ क्षेत्र पूर्ण प्रभावित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेन–रसिया शान्ति प्रयास प्रचलित अन्तर्राष्ट्रिय कूटनीति भन्दा अनौठो र अप्रत्याशित रहेको विषय अहिले चर्चित छ। यो कूटनीति नयाँ विश्व व्यवस्था निर्माणको कोसे ढुङ्गो बन्नेतिर अग्रसर हुँदैछ।
अमेरिकी राजनीतिको मियोमा संसारको राजनीति प्रभावित हुन्छ नै, भइराखेको छ। विश्व राजनीति र भूराजनीतिक देशहरूको सम्बन्ध र समीकरणमा ठूलो दरार पैदा हुँदैछ। विशेष गरी परम्परागत मित्र युरोप र अमेरिका, परम्परागत शत्रु अमेरिका र रसियाको नयाँ समीकरणले विश्व समीकरणमा दरार पैदा हुँदैछ। राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रत्याशित चाल र अपरम्परा वादी कूटनीतिले विश्वको अर्थतन्त्र र राजनीतिलाई कुन मोडमा लैजाने हो, कुटनीतिज्ञहरु बुद्धिले भ्याउन्जेल मन्थन गर्दैछन् ।
पुँजीको उत्कर्ष, बजार र प्रविधिको दुनियाँमा राष्ट्रपति ट्रम्पको नेतृत्वले विश्व अर्थतन्त्र र राजनीतिमा उत्सुकता पैदा गर्दैछ। यस्तो अवस्थामा हाम्रो अर्थतन्त्र र राजनीति कहाँ छ । अहिले नेपाली अर्थतन्त्र र राजनीति विश्व राजनीतिको अप्रत्याशित चालमा चनाखो हुनुपर्ने बेला छ। तर हामी यो विषयमा सतर्क छैनौँ। छिमेकी मुलुकको सम्बन्ध र कुटनीति आज हिजोको भन्दा झन् महत्वपूर्ण हुँदैछ। अमेरिका, युरोप, भारत, चीन लगायत मुलुकले आन्तरिक नियन्त्रण प्रणाली र उत्पादनमा जोड दिन थालिसकेका छन्। यो हाम्रो लागि ठूलो अवसर हो।
शास्त्रीय पुँजीवादको उत्कर्ष सन् १९३० को मन्दीमा देखियो र नवपुजीवादको उत्कर्ष सन् २०२५ को दशकमा देखिँदैछ। शास्त्रीय र नवउदारवादका अर्थशास्त्रीय नियमहरूले बजारमा काम गर्न छोडिसकेका छन्। त्यस्तै संसारमा प्रजातन्त्र सङ्कटको अवस्थामा छ। प्रजातन्त्रको नाममा युद्ध , व्यापार र यसैका नाममा बजारको विस्तारले पुँजी, प्रविधि र श्रम विकसित मुलुकहरूमा केन्द्रीकृत हुँदैछ। बजारमा अघोषित एकाधिकार छ। मध्यम वर्ग र तल्लो वर्गको उत्पादन वितरण र बजारमा मात्र प्रतिस्पर्धा छ।
ठूला उत्पादक वितरक र उद्योगीहरु बजारको एकाधिकारमा रमाएका छन्। तर, यसलाई अहिलेको बजारको नियमले सजिलै स्वीकार गरेको छ। किनकि राजनीतिमा व्यापारीहरू पुगेका छन् र उनीहरुले नै बजार र राजनीतिमाथि आफ्नो बर्चस्व कायम गर्दैछन्।
अहिले सत्रौँ शताब्दी भन्दा अगाडिको जस्तै उद्योगीहरुको राजनीतिमा हस्ताक्षेप बढेर गएको छ। सायद यो औद्योगिक क्रान्तिको उत्कर्ष हो। प्रजातन्त्र र बजारको स्वतन्त्रता दुवैलाई संकटमा पार्दै प्रविधिले मानिसको बुद्धि र चाहनामाथि नै अनौठो बजार सिर्जना गर्दैछ। यो बजार मर्कनटाइल ट्रेड र सेवा व्यापार भन्दा चुनौतीपूर्ण छ नै ।अबको विश्व बजार वस्तु र सेवामा होइन, स्वभाव, प्रवृत्ति र सन्तुष्टिमा केन्द्रित छ। यो गुणात्मक मात्रात्मक वा मूल्यको रूपमा भन्दा विचार, स्वभाव र प्रवृत्तिको सन्तुष्टिमा बढी नाफामूलक हुन्छ। चीनको व्यापार, बजार र उत्पादन यसैमा केन्द्रित छ। यसको छनक मात्र होइन, परिणाम समेत हाम्रो बजारमा देखिन थालेको छ ।
अहिले नेपालमा मन्दी आन्तरिक कारणले मात्र भएको होइन। विश्व बजारले नेपाललाई खर्लप्पै खाएको छ। अब आन्तरिक उत्पादन प्रणाली, ट्रेन्डमार्क र रोजगारी बिना अर्थतन्त्रको मजबुती सम्भव छैन । यसको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइसकेका छन्। यो बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड हाे। किनकि संसार अब प्रजातन्त्र र पुँजीवाद भन्दा भिन्नै हाइब्रिड अर्थतन्त्र र राजनीतिक प्रणालीमा छिरिसकेको छ। अब विचार, परम्परागत शत्रुता र समीकरण होइन नाफा, व्यापार, बजारको समीकरण र सम्बन्ध नजिक हुँदैछ। यसैमा हाम्रो सम्भावना के छ खोज्नुपर्छ ।
श्रम, भूमि र पुँजीमा हुने उत्पादन प्रणाली चक्र लगभग समाप्त भएको छ। अब पुँजीको प्रयोग प्रविधिलाई पुँजीकरण गर्नमा हुँदैछ भने केन्द्रबिन्दुमा ऊर्जा रहेको छ। अबको परिवर्तन, विकास र आवश्यकता यिनै विषयमा घुम्ने निश्चित छ। त्यसैले आन्तरिक खपतको लागि उत्पादन र विश्व बजारका लागि ऊर्जामा लगानी र उत्पादन बढाउनुमा नै नेपाली अर्थतन्त्रको भविष्य छ। अबको समय पूँजी, ऊर्जा प्रविधि को हो। तर हामी अझै पनि भूमि वितरणमाबाट समाजवाद आउँछ भनी विश्वास गर्दैछाैँ र भएको भूमिको उपयोग कता हो कता भूमि वितरणमा मतदाताहरूको विश्वास जित्ने र राजनीति गर्ने प्रवृत्ति छँदैछ। तर अहिलेको बजारले भूमिलाई उत्पादनको साधन मात्र मान्छ । उपयोगी साधन मान्दैन।
श्रमलाई आर्टिफिसियल इन्टेलिजेन्स र प्रविधिले विस्थापित गर्दैछ। अब को १० वर्षमा मान्छेभन्दा बढी काम गर्ने रोबोटहरु हुनेछन्। के यसका लागि हाम्रो श्रम बजार तयार छ। दक्ष श्रमलाई एआइले विस्थापित गर्न सुरु गरिसक्यो। अर्धदक्ष श्रमलाई अबको दुई दशकमा प्रविधिले विस्थापित गर्छ। त्यसपछि हाम्रो अन्तर्राष्ट्रिय श्रम बजार र रेमिटान्स घट्ने निश्चित छ । अहिले नै यस विषयका तर्फ हामी केन्द्रित हुनैपर्छ। नत्र अबको आउने दशकमा हाम्रो अर्थतन्त्र पूर्ण बाह्य क्षेत्रबाट प्रभावित हुनेछ। त्यसपछि श्रीलङ्काको अवस्था हुन समय लाग्दैन।
हाम्रोमा १० प्रतिशतको हातमा ९०% बैंक वित्तीय संस्थाको ऋण र पूँजी केन्द्रित छ। अझै पनि २०% को नाउँमा ८० प्रतिशत भूमि छ। झण्डै २० खर्बभन्दा माथि बैंकमा लगानी योग्य पुजी थुप्रेको छ। जिडीपीको झण्डै ४० प्रतिशत वैदेशिक ऋण र अनुदान पुगेको छ। भारत र चिनसँग ठूलो व्यापार घाटा छ। अर्थात् हामीले न १९८० भन्दा अगाडिको नियन्त्रणमुखी अर्थतन्त्रबाट फाइदा लिउँ। न त नवउदारवादबाट। अहिले झन्डै ३५ लाख युवाहरू विदेशमा छन्। रेमिटान्स प्रति वर्ष झन्डै १५ खर्ब भित्रिन्छ। बाह्य क्षेत्र मजबुत भएपनि आन्तरिक क्षेत्र कमजोर छ। ब्याज र लगानी बीचको अन्तर धेरै छ। बैंकप्रतिको विश्वास जनतामा पुग्नै सकेको छैन। बैंकहरु साहुजी भन्दा माथि उठ्नै सकेका छैनन् । तर यी सबै तथ्याङ्कहरू मन्दीका कारण होइनन्।
यो त हाम्रो अर्थतन्त्रको असक्षमता हो। हामीसँग अझै आन्तरिक स्रोतको कमी छैन। राजस्वलाई मात्र आन्तरिक स्रोत मान्ने कर्मचारीतन्त्रीय मनोविज्ञानबाट राजनीतिमाथि उठ्नुपर्छ । हामी स्रोतको विनियोजन र रकमान्तरमा बढी केन्द्रित छौँ। तर पूँजी निर्माणमा हाम्रो ध्यान पुगेकै छैन। औद्योगीकरणमा चार दशक अगाडि हामी दक्षिण एसियामै माथि थियौँ । किनकि त्यतिखेरै हामीसँग पाँच दर्जनभन्दा बढी औद्योगिक संस्थानहरू थिए। हाम्रोमा निजी क्षेत्र विकसित नै भएन र सरकारी क्षेत्रले निजी क्षेत्रलाई विश्वासमा लिनै सकेन। न त कृषकहरुलाई हाम्रो अर्थतन्त्रले संरक्षण गर्यो न त बजार न त उत्पादनलाई । त्यसपछि हाम्रो लगानी उत्पादनमा होइन जग्गाको कित्ताकाट, पिच बाटो निर्माण, आयात निर्यातमुखी वस्तु व्यापार र छोटो अवधिको नाफामा बढी आकर्षित हुँदै गयौँ। जुन बाह्य बजारको सानो हलचलबाट निरुत्साहित हुन्छ। आजको अवस्था त्यही हो। यो त संकेत मात्र हो। यही अवस्थाबाट गुज्रिने हो भने बजारमा सुधारका संकेत आउन निकै समय लाग्छ।
नेपालमा बजार अर्थतन्त्रको प्रभावले मन्दी सिर्जना गरेको छ। उत्पादनको चक्र बजारसम्म पुग्दा यो स्वयं पुजी र लगानीको रुपमा परिणत हुन्छ। हाम्रोमा उत्पादन चक्र भङ्ग भयो। फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड, इन्डोनेसिया जस्तै नेपाली उपभोक्ता उत्पादन बाट होइन बजारमामा निर्भर हुन थाले। रेमिटान्सको पैसा सोझै खुद्रा,थोक विक्रेता हुँदै बजारमा पुग्यो। तर यसले उत्पादनमा टेवा पुर्याएन । र बजार आयातमुखी बन्न पुग्यो। सिमान्त उत्पादन र गाउँ रितियो। जमिन बाँझै भए। हिजोको कृषिमा आत्मनिर्भर , निर्वाहमुखी परिवार समेत बजारमा भर पर्न थाल्यो। गाउँसम्म चाउचाउ र आलुका चिप्सहरु सहज भए। गोलभेँडा, आलु, पिडालु, कोदो कसैको प्राथमिकतामा रहेन। यो अल्पविकसित वा विकासशील मुलुकका लागि खतरनाक सङ्केत हो। किनकि तुलनात्मक उत्पादन र लगानीको सिद्धान्तले हामी अत्यन्तै सस्तो र प्रतिस्पर्धी मुलुकहरूको बीचमा छौँ।
हामीमा बजार सहज छ । तर यसले आन्तरिक उत्पादन र रोजगार लाई पूर्ण रुपमा नष्ट गर्दै छ । अहिले हाम्रोमा मन्दी आउनुको कारण उत्पादन चक्रलाई स्थिर वा सन्तुलित बनाउन नसक्नाले हो। विगत २० वर्षमा सरकार तथा निजी क्षेत्रकाे लगानी उद्योग ,उत्पादनमा भन्दा व्यापार र वितरणमा थुप्रै छ। व्यापार र वितरणबाट अर्थतन्त्र मजबुत हुँदैन। किनकि वस्तु को व्यापार र वितरणबाट प्राप्त नाफको युग समाप्त भइसकेको छ। नयाँ बजारको मनोविज्ञान बुझ्न नेपालको मध्यम र निम्न वर्गीय लगानीकर्ता, उद्यमी र सीमान्त उत्पादकसम्म सरकार पुग्नुपर्छ। तब मात्र अर्थतन्त्र बढी चलायमान हुन्छ। के यो सुधार गर्न हामी तयार छौं ?
कृषि ऊर्जा र पर्यटन नेपालका भविष्य हुन्। ऊर्जामा आन्तरिक र बाह्य लगानी आकर्षित भइसकेको छ। पर्यटन नेपालको मौलिकता हो। यसमा आन्तरिक र बाह्य लगानीकर्ताहरू धेरै उत्सुक छन् र यसले पक्कै नतिजा दिने नै छ। तर कृषि क्षेत्र मियो भइकन अहिले नाजुक अवस्थामा छ। अब कृषि र उत्पादनमा सरकार लाग्नुपर्छ।
बजारले खोजेको उत्पादन चक्र यसैमा छ। यी क्षेत्रलाई लगानीको विश्वासमा ल्याउने हो भने विश्व राजनीति र अर्थतन्त्रको हलचलले नेपालमा मन्दी ल्याउँदैन। यी विषय सरल छन्। तर कार्यान्वयनको जटिलता हामीले देखेकै छौं। अहिले काठमाडौँ लगायत ठूला सहरका ३० प्रतिशत सटरहरू खाली छन्। गल्लीका पसलहरू बन्द छन्। घुमन्ते बजार अर्थात् स्ट्रिट मार्केट सहरको सुन्दरीकरणको नाउँमा बढारिएका छन्। साना व्यापार र उद्यमी केन्द्रित सहकारीहरू सहर छोडेर भागिसके। के यसो हुँदैछ भन्ने छनक सहरलाई सुन्दर बनाउने नेतृत्वलाई थाहा थिएन। नभए पनि असर देख्न थालिसकेपछि यो सुधार गर्नुपर्थ्यो। यो बजारको असर होइन हामीले केमा लगानी गर्यौं र हाम्रो अर्थनीतिले व्यापार उद्यमी वा लगानी केलाई आकर्षण गर्यो भन्ने कुरा महत्वपूर्ण हो। हामीले विगत ३० वर्षमा अपनाएको अर्थनीति वाणिज्य वा आयात वा निर्यातमुखी नीति नै हो।
यसमा उत्पादन र उद्योग विकासका नीतिहरू प्रभावी भएनन्। किनकि लामो समयको लगानी र दीर्घकालीन नाफा गर्ने प्रवृत्ति लाई हामीले उत्साहित गरेनौँ। तत्काल नाफा लिने र अस्थिर व्यापारमा लगानीकर्ताहरू आकर्षित भए। तत्काल नाफा लिने मा निजी क्षेत्र र राजनीति रमाउँदै गयो र आज चुडिएको चंगा जस्तै भएको छ अर्थतन्त्र। उत्पादन प्रणालीलाई बलियो बनाउने हो भने बजारमा यो निरुत्साह पैदा हुँदैन। युरोपका देश हरूमा हत्तपत्त मान्दी नआउने कारण यही हो।
मध्य युरोपका फ्रान्स र जर्मनीको अर्थतन्त्र टाट पल्टिने अवस्थामा छ। बक्स होगन कम्पनीले मात्र भर्खरै २० हजार रोजगारी गुमाएको छ। अटोमोबाइल्सबाट जिडीपीको झन्डै दुई तिहाई आम्दानी गर्ने जर्मनीका उद्योगहरू बन्द हुँदैछन्। यसले मध्य तथा पूर्वी युरोपका देशहरूको राजनीतिमा प्रत्यक्ष असर पारेको छ। अहिले आन्तरिक राष्ट्रवाद र नियन्त्रणमुखी अर्थतन्त्रको नारा अमेरिका, युरोप र मध्यपूर्वका देशहरूमा आकर्षक बन्दैछ।
यसको अर्थ प्रविधिसँग उत्पादन सधैँ प्रतिस्पर्धी हुन्छ भन्ने बुझिन्छ। युरोप चिनको विद्युतीय र ऊर्जा प्रणालीको विकास र आयातबाट आत्तिएको छ। अहिले यो विश्वका सबै देशहरूको समस्या हो।यो सोच आउन हामीलाई धेरै समय लाग्छ। अहिले हामीले कृषिको उत्पादन र बजारको चक्रलाई मजबुत मात्र बनायौं र यसलाई अन्तर्राष्ट्रिय बजारमा जोड्न सक्यौ भने हामी बेलाबेला हुने विश्व मन्दी बाट बच्न सक्छौं। तर अहिले हामी विश्वको चक्रव्यूहमा फसिसकेका छौँ।
भिखारीको कुनै छनोट हुँदैन । अहिले अमेरिकाले युएस एड बन्द गरेको छ। अमेरिका विगत ८० वर्षमा आफूले लगानी गरेका क्षेत्रहरूको प्रतिफल खोज्दैछ। यो प्रतिफल अमेरिकी स्वार्थमा केन्द्रित छ। हाम्रोमा लगभग २५ खर्ब विदेशी ऋण र अनुदान छ। दाताहरुले यसरी नै प्रतिफल खोजे भने हामी के उत्तर सक्छौं ? यसका लागि हामी तयार छौं ? किनकि विदेशी ऋणको उपयोग र लगानी र प्रतिफलको बीचमा ठूलो खाडल छ। यसैमा भ्रष्टाचार छ। यो सबक हामीले अहिले नै सिक्नुपर्छ । अब आन्तरिक उत्पादन र बजारमा जोड दिनुपर्ने समय आएको छ। अहिले विश्व बजारले दिएको सन्देश यही हो।
(लेखक नेपाल सकारका सह-सचिव हुन्)