काठमाडौँ – नेकपा एकीकृत समाजवादीले गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरूत्थानवादी शक्तिहरुको चलखेलबिरुद्ध एकताबद्ध हुन आह्वान गरेको छ ।
सोमबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले राजावादी लगाएत प्रतिगमनकारी र पुनरूत्थानवादीहरुले गणतन्त्रबिरुद्ध चलखेल गरेको भन्दै यसका विरुद्ध एकताबद्ध हुन आह्वान गरेको हो । जनताको लामो सङ्घर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रका विरूद्धको गतिविधिको विरोध गर्दै गणतन्त्रशक्तिहरुलाई एकतावद्ध हुन अपिल गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिदै आफ्ना काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्नेमा बैठकले जोड दिएको उनले बताए । यसैगरी बैठकले आगामी चैत १ गते वृहत पत्रकार सम्मेलन गरी गणतन्त्र र संविधानको रक्षा एवं रोजगारी र सुशासनको निम्ति पार्टीले गर्न लागेको आन्दोलनको रूपरेखा एवं कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको प्रचार बिभाग प्रमुख ज्वालाले जानकारी दिए ।
उनले पार्टीले गर्न लागेको आन्दोलनमा ऐकवद्धता जनाउनु आमसमूदायमा अपिल गर्ने निर्णय गरेको बताए । ज्वालले मशानघाटमा पुगेको राजसंस्था ब्यूँतिने कुनै सम्भावना नरहेको धारणा जिकिर गरे । उनले परिवर्तनकाविरुद्ध हुने चलखेल कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।