काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्त्वहरू सलबलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


पार्टीद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित कार्यक्रममा उनले जनताको लामो संघर्षबाट प्राप्त अधिकार तथा वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताए ।


ADVERTISEMENT

# # #


सरकारले कार्यशैली सच्याएर गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘प्रतिगामी यथास्थितिवादीहरूले अहिले टाउको उठाउन थालेका छन् । सो विषयलाई पार्टीले गम्भीर रूपमा लिएको छ ।’

केही समययता काठमाडौँ उपत्यकालगायत मुलुकका केही सहरहरूमा भइरहेका नारा जुलुसले सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भइराखेको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले लोकतन्त्रमाथिको प्रहार सह्य नहुने विचार व्यक्त गर्दै संविधान, लोकतन्त्रका साथै संघीय गणतन्त्रको रक्षाका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदान तथा संघर्षबाट प्राप्त भएकाले त्यसको रक्षाका लागि सबै एकताबद्ध हुनुपर्ने बताए ।

अध्यक्ष नेपालले संघीय लोकतन्त्रमाथि धावा बोलिरहेकाले जनता चनाखो हुनुपर्ने र संविधानको उल्लङ्घन गर्ने छुट कसैलाई पनि नरहेकामा जोड दिए ।