काठमाडौं–नौबिसे–काठमाडौं सतुंगल जोड्ने सुरुङमार्गको निर्माण गर्न सरकारले टेण्डर आव्हान गर्ने तयारी गरेको छ । एक महिना भित्रै टेण्डर गर्ने तयारी अघि सुरुङमार्ग बनाउन सरकारले जग्गा अधिग्रहणको प्रक्रिया पनि अगाडि बढाइसकेको छ ।


ADVERTISEMENT


जापान सरकारले तयार गरेको डिजाइनका आधारमा सरकारले आफैं उक्त सुरुङमार्ग बनाउन लागेको हो । अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ । उक्त सुरुङमार्ग बनेपछि काठमाडौंबाट थानकोट हुँदै बाहिरिने र भित्रिने सवारी साधनलाई सहज हुनेछ ।


ADVERTISEMENT

# # #


यसअघि सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ० दशमलव ०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ । सरकारले यस वर्ष पाँच अर्ब ९४ करोड रुपैयाँ छुट्याएको छ ।

सुरुङको लम्बाइ २.३५ किलोमिटर हुनेछ, जसमार्फत् नागढुंगाको जामबाट छुटकारा पाइनेछ । राजधानीको एक मुख्य प्रवेशद्वार नागढुंगाबाट काठमाडौं प्रवेश गर्न नौबिसेदेखि तीन घण्टासम्म लाग्छ । सुरुङबाट २० मिनटमै काठमाडौं प्रवेश गर्न सकिनेछ ।

आयल निगमको थानकोट डिपोभन्दा मुनि निस्किने सुरुङलाई पुनः त्रिभुवन राजपथमा ल्याएर जोड्न दुई दशमलव २५ किमिको पहुँच मार्ग निर्माण गर्नुपर्नेछ । पहुँच मार्ग टेलिकम कार्यालयनजिक मुख्य राजमार्गमा जोडिनेछ । धादिङको सिस्नेखेलातर्फ भने सडक निर्माण गर्नुपर्ने छैन ।

१२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १–१ मिटरको पेटी राखिने छ । सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइने छ ।

सुरुङमार्ग ‘२ प्लस वान लेन’ मापदण्डको हुन्छ । ‘२ लेन प्लस वान लेन’मा दुवैतर्फका सडक बेला–बेलामा दुई लेनमा परिणत हुने र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टिको सडक दुई लेन हुँदा अर्कोपट्टि एक लेन हुन्छ, जुन फेरबदल भइरहन्छ ।