काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले टीकापुर घटनाको आरोपमा पक्राउ परेका व्यक्तिहरुको रिहाइ गर्न माग गरेको छ । राजपा ७ नम्बर प्रदेशका प्रवक्ता तथा कञ्चनपुर अध्यक्ष अम्बादत्त तिवारीले विज्ञप्ति जारी गर्दै २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिहरुलाई निःशर्त रिहाइको माग गरेका हुन् । उनले सोही घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र प्रदान गरेर सपथ ग्रहण गर्ने वातावरण निर्माण गर्न पनि माग गरेका छन् ।


ADVERTISEMENT


सुदूरपश्चिमको मैजुदा संरचना यथावत् राखेर प्रदेश बनाइनुपर्ने र कैलाली, कञ्चनपुरलाई टुक्र्याएर थरुहट–थारुवान प्रदेश बनाइनुपर्ने माग राख्दै छुट्टाछुट्टै आन्दोलनमा उत्रिएकाहरु हिंसात्मक आन्दोलनमा उत्रिएपछि टीकापुरमा ठूलो जनधनको क्षति भएको थियो । उक्त हिंसात्मक आन्दोलनमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय केशव बोहरा र बलराम विष्टसहित आठ जना प्रहरी र डेढ वर्षिय बालकको हत्या भएको थियो ।


ADVERTISEMENT

# # #


हत्यालगत्तै फरार रहेका मुख्य योजनाकार भनिएका रेशम चौधरीले केही दिन अघिमात्रै जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरिसकेका छन् । उनलाई अदालतले पुर्पक्षका लाथि थुनामा राख्न आदेश दिएको छ ।