काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको प्रर्दशनका क्रममा भएको घटनामा संलग्नलाई कारवाही गर्ने स्पष्ट पारेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले राजावादीको प्रर्दशनका क्रममा भएको घटना निन्दनीय र खेदजनक भएको भन्दै घटनामा संलग्न जोसुकैलाई पनि कारवाही गर्ने स्पष्ट पारेका हुन् । घटनामा संलग्नहरुमाथि छानबीन सुरु भएको भन्दै उहाले योजनाकारका सन्दर्भमा समेत छानबिन र अनुसन्धान गरिरहेको बताए ।
प्रधानमन्त्री ओलीले प्रारम्भिक अध्ययनमा सवै घटनामा तत्कालीन राजा ज्ञानेन्द्र शाहको भूमिका देखिएको बताए । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै श्रृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? भन्दै उनले प्रश्न गरे । उनले सबै घटनाको जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले सवै जिम्मेवारी पूर्वराजाले लिनुपर्ने धारणा राखेपछि राप्रपाका सांसदहरुले विरोध जनाएका थिए । विरोध पनि प्रधानमन्त्री ओलीले देशमा सवैले संविधान र व्यवस्था मान्नुपर्ने धारणा राखे ।
त्यस्तै कुलमान प्रकरणमा विपक्षीले उठाएका बिषयमा प्रधानमन्त्री ओलीले कर्मचारी हटाउने र नयाँ जिम्मेवारी दिने सामान्य प्रक्रिया भएको बताए । देशका महत्वपूर्ण विषयमा छलफल गरेर निर्णय गरेर अघि बढ्नुपर्ने समयमा एउटा सामान्य कर्मचारीको विषयमा संसद् अल्झनु नहुने उनले जनाए ।
बैठकमा प्रधानमन्त्री ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराए ।