काठमाडौँ– प्रधानमन्त्री ओलीले सरकारले सबैको विचारलाई सम्मान गर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सो धारणा व्यक्त गरे । उनले भने, ‘अस्थिरताको अन्त्य, स्थिरता र स्थायित्व र सरकारका नीतिहरु छिनछिनमा बदलिने, व्यवसायी क्षेत्रमा नकारात्मक असर पार्ने, उत्तरदायित्व नलिने, एउटा सरकारको ठाउँमा अर्को सरकार बन्ने र अघिल्लो सरकारले ल्याएका राम्रा कामहरु पनि उच्चारण समेत गर्न नहुने जस्ता कुराहरूलाई अन्त्य गर्नको लागि यो सरकार बनेको हो ।’
प्रधानमन्त्री ओलीले निजी क्षेत्र समेत विकासका लागि कम्मर कसेर आत्मविश्वासका साथ लागेकाले सरकार त्यसलाई सघाउन तयार रहेकोे बताए । प्रधानमन्त्री ओलीले जनतालाई सेवा र सुविधा दिनका लागि विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै लैजाने धारणा राखे । ठुला उत्पादन र उत्पादकत्व बढाउन सरकार अग्रसर रहेको भन्दै उहाँले निजी क्षेत्रले दिएका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको पनि जनाए ।
त्यस्तै महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र चलायमान हुन नसक्दा अहिले सबैतिर प्रभाव परेको बताए । उनले अब आर्थिक सम्मृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्नेे हो कि भन्ने लागेको भन्दै सवै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
उनले निजि क्षेत्रको आग्रहमा करिब ३५ वटा कानुनमा सुधार भएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको भन्दै सरकारलाई धन्यवाद दिए । अध्यक्ष ढकालले निजी क्षेत्रको उद्यम व्यवसाय र सर्वसाधारणको जिविकामा प्रतिकूल असर पर्ने काम राजनीतिक नेतृत्वबाट हुन नहुनेमा जोड दिए । उनले सरकार र निजि क्षेत्रको संयुक्त प्रयासमा दोहोरो अंकको वृद्धि सम्भव रहेको बताए ।
कार्यक्रममा बढी कर तिर्ने क्षेत्रगत कम्पनी र महासङ्घका उत्कृष्ट प्रदेश र जिल्ला समितिलाई सम्मान गरिएको थियो ।