काठमाडौँ– प्रतिनिधिसभाको आगामी अधिवेशनमा सार्वजनिक बिदाका दिन बाहेक अन्य सवै दिन बैठक सञ्चालन हुने भएको छ ।
बुधबार सिंहदरबारमा प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख देवराज घिमिरेले शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् ।
सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताए ।
त्यस्तै उनले विद्यालय शिक्षा विधेयक सदनमा आएपछि प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा समेत जोड दिएका थिए । बैठकले सभामुखको प्रस्ताव अनुमोदन गरेको छ ।
सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । उनले विद्यालय शिक्षा विधेयक सदनमा पेश भए त्यसलाई पनि प्राथमिकतामा आधारमा अघि बढाउने सहमति भएको बताए ।
त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले वैशाख १२ गते बस्ने पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको जानकारी दिए ।
त्यस्तै बैशाख १९ गते सरकारले नीति तथा कार्यक्रम पेश गर्ने र त्यसपछि केहि महत्वपूर्ण विधेयकलाई टुङ्गाउने गरि अघि बढ्ने उनले बताए । । बर्तौलाले विद्यालय शिक्षा विधेयकमा सदन पेश हुने बितिकै पारित गर्ने विषयमा सहमति भएको जानकारी दिए ।
उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै विद्यालय शिक्षा विधेयक प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको नेताहरुले जनाएका छन् ।