काठमाडौँ– जम्मु–कश्मिरको पहलगाममा भएको आतंकी हमलामा २६ जनाको मृत्युपछि भारतले पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाएको छ।
भारतीय खुफिया एजेन्सीले लश्कर–ए–तोयबाको संलग्नता पुष्टि गरेपछि भारतले पाकिस्तानीहरूलाई ४८ घन्टाभित्र देश छाड्न आदेश दिएको हो।
विदेश सचिव विक्रम मिश्रीका अनुसार, भारतमा रहेका पाकिस्तानी कूटनीतिज्ञहरूलाई सात दिनभित्र फर्कन भनिएको छ भने पाकिस्तानमा रहेका पाँच भारतीय कूटनीतिज्ञलाई पनि फिर्ता बोलाइएको छ।
त्यसैगरी, भारतले पाकिस्तानसँगको कटारी नाका मे १ सम्मका लागि खोल्ने र त्यसपछि बन्द गर्ने जनाएको छ। भारत–पाकिस्तानबीचको सिन्धु जल सम्झौता पनि हाललाई स्थगित गरिएको छ।
भारतको सुरक्षा एजेन्सीले आक्रमणमा संलग्न लश्करका तीन आतंककारी मुसा, युनुस र आसिफको स्केच सार्वजनिक गरेको छ। ती आतंककारीले एके–४७ जस्ता आधुनिक हतियार प्रयोग गरी पर्यटकमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदीले आतंककारीहरूलाई कारबाहीबाट उन्मुक्ति नहुने चेतावनी दिएका छन् यस्तै गृहमन्त्री अमित शाहले घटनास्थलको निरीक्षण गरेका छन् ।