सप्तरी — जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवको पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
उक्त भिडिओमा नेतृ सिंह सप्तरीको बोदेबर्साइनस्थित एक विवाह समारोहमा नाच्दै पेस्तोल पड्काउँदै गरेको देखिन्छ। भिडियोमा उनले एक राउन्ड हवाई फायर गरेपछि धुवाँ निस्किएको देखिन्छ, त्यसपछि अर्का एक युवकले त्यो पेस्तोल समाउँदै गरेको दृश्य समेत देखिन्छ।
भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ। नेतृ सिंहले उक्त पेस्तोल खेलौना भएको दाबी गरेकी छन्, तर प्रहरी यसबारे पुष्टि गर्न अनुसन्धानमा जुटेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले नेतृ सिंहलाई सोधपुछका लागि बोलाएको छ। सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले पेस्तोल असली हो वा नक्कली भन्नेबारे निश्चित नभएको बताउँदै आवश्यक अनुसन्धान थालिएको जानकारी दिए। उनका अनुसार, भिडिओ र पेस्तोलसम्बन्धी सबै विवरणहरू प्रहरी प्रधान कार्यालयमा समेत पठाइनेछ।
डा। बबी सिंह पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन्। यो घटनाले समाजिक सञ्जालमा सुरक्षा र राजनीतिक आचरणप्रतिको बहसलाई थप चर्काएको छ।