काठमाडौँ– नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षक महासंघ र सरकारबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ ।


ADVERTISEMENT


विद्यालय कर्मचारीको माग मुद्दा सम्बोधन नगरि महासंघले एकपक्षीय ढंगले सरकारसंग सहमति गरि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको भन्दै परिषद्ले सहमतिको भत्र्सना समेत गरेको छ ।


ADVERTISEMENT

# # #


परिषद्का अध्यक्ष गंगाराम तिवारीले आफुहरुको माग मुद्दाप्रति महासंघ गम्भीर नबनेकाले आफुहरुको आपत्ति रहेको बताए । उनले महासंघको आन्दोलनमा निरन्तर साथ र समर्थन गरिरहको अवस्थामा विद्यालय कर्मचारी कै माग सम्बोधन नहुनु उचित नभएको जिकिर गरे । तिवारीले शिक्षकहरुले आन्दोलनका नाममा शिक्षक महासंघले राजनीति गरेको आरोप समेत लगाए ।

उनले परिषद्को बैठक बसेर आगामी रणनीति तय गर्ने जानकारी दिए । यसअघि बिहीबार नै काठमाडौंमा शिक्षक महासंघको समिक्षा बैठक बसेको थियो । सो क्रममा विद्यालय कर्मचारीहरुले आफुहरुको समस्या समाधान नभएको भन्दै आपत्ति जनाएपछि होहल्ला समेत भएको थियो ।

यस्तो छ चरणबद्व आन्दोलनको घोषणा

शिक्षक महासंघ र सरकारबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउदै नेपाल विद्यालय कर्मचारी परिषदले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

जसअनुसार बैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म कालो पट्टी बाधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते सवै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउदै आन्दोलनका बारेमा जानकारी गराउने र जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने परिषद्ले जनाएको छ । त्यस्तै जेठ ६ गते शिक्षा बिकास तथा समन्वय इकाइमा ध्यानाकर्षण पत्र बुझाउने, जेठ ७ गते सातवटै प्रदेशमा ध्यानाकर्षण पत्र बुझाउने र जेठ ९ र १० गते काठमाडौंमा सडक आन्दोलन गर्ने परिषद्ले जानकारी दिएको छ ।

सो समयभित्र आफ्ना मागहरु पुरा नभए दोश्रो चरणको आन्दोलनको घोषणा गर्ने परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । उनले विद्यालय कर्मचारीको मागलाई पूर्णरुपमा वेवास्ता गर्दै शिक्षकहरुले आफ्ना माग मात्रै पुरा हुने गरि सहमति गरेकाले असन्तुष्टि रहेको उल्लेख गरे ।