काठमाडौँ — शिक्षक आन्दोलनमा सँगसँगै संघर्ष गर्दै आएका विद्यालय कर्मचारीहरूले आफूहरूलाई पछाडि पारिएको भन्दै असन्तुष्टि जनाएका छन्। नेपाल विद्यालय कर्मचारी परिषदले नेपाल शिक्षक महासंघले धोका दिएको आरोप लगाउँदै नयाँ चरणको आन्दोलन घोषणा गरेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिषदले आन्दोलन परिचालन समिति गठन गर्दै बब्बन मिश्रलाई संयोजक नियुक्त गरेको छ। परिषदले शिक्षक महासंघले सरकारले गरेको सहमतिमा विद्यालयका राहत, बाल विकास र अन्य कर्मचारीहरूको माग समेटिन नसकेको भन्दै आक्रोश व्यक्त गरेको हो।
परिषद अध्यक्ष गंगाराम तिवारीले भने, “हामी शिक्षकहरूसँगै आन्दोलनमा थियौं, तर सहमति गर्दा कर्मचारीको आवाजलाई बेवास्ता गरियो। यो स्पष्ट धोका हो।”
अब परिषदले शिक्षक महासंघविरुद्ध नै आवाज उठाउने निर्णय गरेको छ। आन्दोलन अन्तर्गत वैशाख २१ बाट सुरु हुने कक्षा १२ को परीक्षामा कर्मचारीहरू कालोपट्टी बाँधेर उपस्थित हुनेछन्।
परिषदले आन्दोलनको मुख्य उद्देश्य शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य गर्दै शिक्षा क्षेत्रलाई समानता र सम्मानमा आधारित बनाउनु रहेको जनाएको छ।