काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउदो नभएको बताएका छन् ।
गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेशका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली सञ्चारमाध्यमका भाषा देशका विशिष्ट व्यक्तिहरुलाई अनादर हुने प्रकारको रहेको र सुहाउँदो नभएको बताएका हुन् ।
“गोरखापत्रलाई नेपाली भाषाको शुद्धताको मानक मानिन्छ। ‘राष्ट्रपतिले भने’ भन्नुहुन्छ कि ‘भन्छ’ भन्नुहुन्छ, यो स्पष्ट हुनुपर्छ। ‘नातीसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे’ भन्ने नेपाली भाषा होइन,” प्रधानमन्त्री ओलीले भने।
उनले ‘तिमी’ जस्ता सम्बोधनले भाषाको गरिमा र उचाइलाई कमजोर बनाउने तर्क गरे। “राजतन्त्रकालमा राजाले ‘नजर गर्थे,’ ‘सवारी गर्थे,’ ‘सुकला हुन्थ्यो’ भनिन्थ्यो। राजतन्त्र हटेपछि जनताका छोरालाई किन सम्मान नगर्ने ? भाषा गरिब भए पनि हामीले आफ्नो भाषाको कद घटाउनुहुन्न,” उनले थपे।
उनले कसैले पनि नेपाली भाषाको कद घटाउने काम गर्न नहुने धारणा राखे । प्रधानमन्त्री ओलीले निरङ्कुशकालमा जस्तो शासकबाट कुनै हस्तक्षेप नहुने भएकाले आफ्नो ब्रम्हले देखेको कुरा लेख्न अहिले गोरखापत्र प्रकाशन स्वतन्त्र रहेको जिकिर गरे ।
मुलुकको सभ्यता र संस्कृतिका क्षेत्रका साथै अर्थतन्त्र र नेपाली भाषाको विकासका लागि दिएको गोरखापत्रले दिएको योगदानको उनले प्रशंसा गरे ।
प्रधानमन्त्री ओलीले नकारात्मक टिप्पणी गर्ने, कृत्रिम बौद्धिकताको प्रयोग गरेर चरित्र हत्या गर्ने र झुटलाई सही भनेर फैलाउने प्रवृत्ति बोकेका सञ्चारमाध्यमसँग गोरखापत्रले सामना गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार एवं संस्थानका पूर्व अध्यक्ष विजय चालिसेलगायत उत्कृष्ट पत्रकार र कर्मचारीलाई पुरस्कार प्रदान गरेका थिए ।