धुलिखेल – अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभामा सहभागी हुन अदालतको आदेशसहित पुगेका पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा गौरव थापालाई प्रवेशमा रोक लगाएपछितनाव सिर्जना भएको छ।


ADVERTISEMENT


उच्च अदालत पाटनले वैशाख २१ गते थापा बाबुछोरालाई एन्फाको साधारण सभामा सहभागी हुन दिने अन्तरिम आदेश दिएको थियो। सोही आदेशको प्रमाणपत्र लिएर उनीहरू शुक्रबार धुलिखेल पुगेका थिए। तर, सभा स्थलको गेटमा रहेका सुरक्षाकर्मी र स्वयंसेवकहरूले उनीहरूलाई प्रवेश नदिएपछि स्थिति तनावग्रस्त भएको हो।


ADVERTISEMENT

# # #


थापाले भने, ‘अदालतको निर्णय मान्दिन भन्ने हो भने खुलै भन्नुपर्‍यो, होइन भने हामीलाई सभा स्थलभित्र जान दिनुपर्‍यो।’ उनका अनुसार एन्फाले प्रवेश पास आवश्यक भएको बताएको भए पनि आफैंले पास दिन अस्वीकार गरेको थियो।

गणेश थापालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले १६ अप्रिल २०१५ मा भ्रष्टाचार, घुस लिने लगायतका आरोपमा १० वर्षका लागि निलम्बन गरेको थियो। साथै, उनलाई २१ लाख रुपैयाँ जरिवाना पनि गरिएको थियो। प्रतिबन्धको अवधि १५ अप्रिल २०२५ मा समाप्त भएपछि उनी पुनः फुटबल गतिविधिमा सक्रिय हुन थालेका छन्।

प्रतिबन्ध फुकुवा भए पनि एन्फाले साधारण सभामा सहभागी हुन नदिने संकेत देखिएको भन्दै थापाले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए। उक्त रिटमा न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो।

तर, आदेशपछि पनि एन्फा पक्षले उनीहरूलाई सभा स्थलमा प्रवेश नदिएपछि विवाद सिर्जना भएको हो।