नयाँ दिल्ली– भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले अप्रेशन सिन्दूर सम्बन्धमा विशेष पत्रकार सम्मेलन गर्दै भारतले मे ७ मा गरेको सैन्य कारबाही २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिकृया स्वरूप भएको स्पष्ट पारेका छन्। उक्त आक्रमणलाई नै उनले क्षेत्रीय तनावको मूल शुरुवात भएको बताएका छन्।


ADVERTISEMENT


उनले भारतको कारबाही पूर्ण रूपमा आतंकवादी संरचना विरुद्ध लक्षित, सटीक, र सन्तुलित रहेको भन्दै कुनै पनि नागरिक वा सैन्य संरचनालाई निशाना नबनाइएको दाबी गरे। “हामीले कुनै उक्साहट गरिरहेका छैनौं, यो त प्रतिक्रियात्मक र जिम्मेवार कदम हो,” परराष्ट्र सचिवले भने।


ADVERTISEMENT

# # #


मिस्रीले पाकिस्तानबाट फैलाइएको झुटा प्रचार र “नागरिक हताहत” को दाबीलाई खारेज गरे। उनले प्रश्न गरे, “यदि मरेका व्यक्ति नागरिक थिए भने तिनको अन्त्येष्टि पाकिस्तानको झण्डा ओढाएर किन गरियोरु तिनीहरू आतंककारी थिए, नागरिक होइनन्।”

उनले पाकिस्तानको संयुक्त अनुसन्धानको प्रस्तावलाई ढिलाइ गर्ने चालबाजी मात्र भएको भन्दै विगतमा मुम्बई (२००८) र पठानकोट (२०१६) हमलाहरूमा भारतले सबै प्रमाण दिए पनि पाकिस्तानले कुनै ठोस कदम नचालेको स्मरण गराए। “पाकिस्तानले प्रमाणहरूलाई छोपछाप गर्न र आतंककारीलाई जोगाउन प्रयोग गर्ने गरेको हाम्रो अनुभव छ,” उनले भने।

पाकिस्तानको नीलम–झेलम जलविद्युत आयोजनामा भारतले आक्रमण गरेको दाबीलाई “पूरै झूट र आधारहीन” भन्दै परराष्ट्र सचिवले कडा अस्वीकार गरे। “यदि यस्तो झूटको आधारमा भारतको पूर्वाधारमा आक्रमण गर्ने दुस्साहस गरिन्छ भने, त्यसको सम्पूर्ण जिम्मेवारी पाकिस्तानकै हुनेछ,” उनले चेतावनी दिए।

सिन्धु जल सन्धि सम्बन्धमा पनि उनले भारतले दशकीय धैर्य देखाउँदै सन्धि पालन गर्दै आएको तर पाकिस्तानले निरन्तर भारतका अधिकारमा अवरोध गर्दै आएको बताएका छन्। “यो सन्धि मैत्री र सद्भावमा आधारित थियो, जुन पाकिस्तानको व्यवहारबाट खण्डित भइसकेको छ। अब हामीले सन्धिलाई अस्थायी रूपमा निलम्बन गरेका छौं, जबसम्म पाकिस्तानले सीमा पारको आतंकवादलाई पूर्ण रूपमा त्याग्दैन,” उनले स्पष्ट पारे।

मिस्रीले अन्त्यमा भने, यो परिस्थिति अझ विकसित हुँदैछ र सबैलाई संयमित बन्न आग्रह गर्दै अहिले विस्तृत सैन्य जानकारी सार्वजनिक गर्न नसकिने बताए।