काठमाडौँ– सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथि आएका सुझावहरुलाई समेत आत्मसाथ गर्नेगरि अघि बढाउन सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा क्रममा उनीहरुले नीति तथा कार्यक्रमको छलफललाई परम्परावादीमात्रै नबनाइ यसमा आएका सुझावहरुलाई समेत समेटेर कार्यान्वयन गर्न सुझाव दिएका हुन् ।
कांग्रेस सांसद दिपक गिरीले सरकारको कार्यक्रम सोचेजस्तो नआएको बताए । नीति तथा कार्यक्रममा समावेश बिषयहरुलाई कार्यान्वयन गर्ने अवस्था बनाउन उनले सुझाए । सांसद गिरीले नीति तथा कार्यक्रमको छलफलका क्रममा आएका सुझाव समेटिन नसके छलफलको कुनै औचित्य नरहने उनले बताए ।
त्यस्तै एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले नीति तथा कार्यक्रममा रहेका बिषयहरुलाई कार्यान्वयन हुने गरि अघि बढाउनुपर्नेमा जोड दिए । उनले संविधान संशोधनका विषयमा सरकारको कार्यक्रममा आएको बिषय राम्रो भएको जनाए । बास्कोटाले तासका बुकका राजारानी खोज्नु बाहेक अन्य राजा खोज्नु समयको बर्बादीमात्रै भएको तर्क गरे ।
त्यस्तै माओवादी केन्द्रका सांसद रेखा शर्माले सरकारको कार्यक्रम परम्परावादी र कर्मकाण्डीमात्रै रहेकाले यसमाथि छलफल गर्नु आवश्यक नरहेको बताए । छलफलका क्रममा सांसदहरुले दिएका सुझावहरुलाई समेत समावेश गरेर नीति तथा कार्यक्रम परिमार्जन गर्दै अघि बढाउन उनले सुनाए ।
त्यस्तै रास्वपा सांसद डीपी अर्यालले नीति तथा कार्यक्रममा आएका सुझावलाई समेटेर परिमार्जन सहित पास हुने परिपार्टीको विकास गर्न सुझाव दिए । नीति तथा कार्यक्रमका उठेका प्रश्नको प्रधानमन्त्री केपी ओलीले आइतबार सदनमा जवाफ दिने कार्यक्रम रहेको छ ।