काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय खेलाडी सम्झौतामा नबस्ने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सन्दीपले आफू केन्द्रीय समझौतामा बस्न नचाहेको उल्लेख गरेका छन् ।


ADVERTISEMENT


यद्दपि केन्द्रीय समझौता नरहे पनि आफू क्रिकेटबाट अलग हुन भने नचाहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘धेरै सोचविचार पछि मैँले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको छु। यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा रहने भन्ने होइन, बरु यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो ।’


ADVERTISEMENT

# # #


आफ्नो उतारचढावपूर्ण यात्रामा क्यानको निरन्तरको सहयोगप्रति सन्दीपले आभार समेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘स्पष्ट रुपमा भन्नुपर्दा म सधैं जस्तै उही जोश र समर्पणका साथ नेपालको लागि खेल्न जारी राख्नेछु। त्यो गर्व र जिम्मेवारी सधैं मेरो हृदयको नजिक रहनेछ।’

क्यानले केही साता अघि सन्दीपलाई क्याटेगोरी ‘ए’मा राखेको थियो । ‘ए’मा रहेका खेलाडीको तलब मासिक १ लाख रुपैयाँ हुन्छ । केन्द्रीय सम्झौतामा नरहे उनले क्यानबाट तलब पाउने छैनन् ।  जुन समूहमा सन्दीपसहित नेपाली टोलीका कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, आशिफ शेख रहेका थिए ।

कारण के हो ?

सन्दीपले केन्द्रीय सम्झौतामा बस्न नचाहनुको खास कारण भने खुलाएका छैनन् । यद्दपि क्रिकेट समर्थकले भने सन्दीपले नेपाली टोलीको कप्तानी नपाउँदाको रिस पोखेको अनुमान गरेका छन् ।

केही दिन अघि क्यानले आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँगको त्रिकोणात्मक सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरेको थियो । जसमा क्यानले उपकप्तानका रुपमा दीपेन्द्रसिंह ऐरीलाई घोषणा गरेको थियो ।

लगातार टोलीको र व्यक्तिगत खराब प्रदर्शनले आलोचित भइरहेका रोहित पौडेललाई कप्तानीमा निरन्तरता दिँदा सन्दीप खुसी नभएको अनुमान समेत धेरैले गरेका छन् । नाबालिका बलात्कारको आरोप लागेपछि सन्दीप नेपाली टोलीको कप्तानीबाट हटाइएका थिए भने राष्ट्रिय टोलीबाट समेत निलम्बित भएका थिए ।

तर, उक्त आरोपबाट सफाई पाइसकेर टोलीमा फर्किएकाले कप्तानी आफूलाई दिनुपर्ने माग सन्दीपले अप्रत्यक्ष रुपमा राख्दै आएका थिए । अब उक्त सम्भावना नदेखेपछि दबाब दिन सन्दीपले केन्द्रीय सम्झौतामा हस्ताक्षर नगर्ने घोषणा गरेको बताइन्छ ।